सरकारले चालु आर्थिक वर्ष २०८३ / ८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ । श्रेणीविहीन कर्मचारीहरू (हल्कारा, हुलाकी, कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकोमा ग्रेड थप भएपछि कुल तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको हो ।
अब राज्यको प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ ।


















