प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप-३१ मा सहभागी हुन टर्कीबाट औपचारिक निमन्त्रणा प्राप्त भएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा आएको जानकारी दिएका हुन्। उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्।
परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको ढकालले बताए। तर, सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री स्वयं सहभागी हुने वा प्रतिनिधिमण्डलको नेतृत्व अन्य कुनै तहका अधिकारीले गर्ने भन्नेबारे भने अहिलेसम्म निर्णय भइनसकेको मन्त्रालयले जनाएको छ। ‘कुन लेभलबाट सहभागिता हुने भन्ने विषयमा जानकारी आउन बाँकी छ,’ बैठकमा सहसचिव ढकालले भने।
कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। सम्मेलनमा विश्वभरका मुलुकका प्रतिनिधिले जलवायु परिवर्तनका असर, न्यूनीकरण, अनुकूलन तथा जलवायु वित्तलगायतका विषयमा छलफल गर्नेछन्। नेपालले पनि जलवायु परिवर्तनबाट हिमाली तथा पर्वतीय क्षेत्रमा परेको असर, जलवायु वित्त र अनुकूलनका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ।


















