सल्यानमा भेरी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाकाे खाेजी गर्न सुरक्षाकर्मी परिचालन भएकाे छ । बुधबार दिउँसो करिब २ बजेकाे समयमा छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप भेरी नदीमा खसेकाे थियाे ।
उक्त जिपमा सवार चार मध्ये दुई जना नदीमा बेपत्ता भएका छन् । बालुवा संग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिपमा सवार बनगाड कुपिण्डे नगरपालिका–१, आपखोली निवासी २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन् ।
उनीहरू भेरी नदीमा पौडेर बाहिर निस्कन सफल भएका थिए । बेपत्ता हुनेमा जिप चालक दाङका अन्दाजी २३ वर्षीय हेमराज बीसी र सल्यानकाे सिद्धकुमाख गाउँपालिका–४, का अन्दाजी ४३ वर्षीय खलबहादुर राना रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
उनीहरूकाे खाेजीका लागि सुर्खेतबाट सशस्त्र प्ररही बलकाे गाेताखाेरसहितकाे उद्दार टाेली खटाइएकाे जनाइएकाे छ ।


















