राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्चस्तरीय छानबिनको माग गरेको छ ।
बुधवार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्धबारे गम्भीर प्रश्न उठाएको हो । उनले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्रै सक्रिय रहेको दाबी गरे।
सांसद सुनारले प्रहरी महानिरीक्षकको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको र उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाए । त्यसैगरी, प्रहरीका लागि आवश्यक जुत्ता तथा लाठी ९भाटा० खरिदमा समेत ठूलो भ्रष्टाचार भएको उनको जिकिर छ । छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन सांसद सुनारले वर्तमान गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने वा उनीहरूलाई निलम्बन गरिनुपर्ने माग राखे ।
उनले भने, ‘आईजीपीको घरमा चोरी भएको हो कि होइन रु यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, उहाँले सार्वजनिक गर्नुपर्छ । भाटा खरिदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण छ । विपन्न वर्गका छोराछोरी प्रहरीमा भर्ना भएर देशको सेवा गरिरहेका छन्, तर उनीहरूले प्रयोग गर्ने सामग्रीको खरिदमा माथिल्लो निकायबाट व्रह्मलुट भइरहेको छ । बर्दी लगाएर वा पदमा बसेर आफूमाथिको छानबिनलाई प्रभावित पार्न पाइँदैन । सार्वजनिक खरिदमा हुने अनियमिततालाई फौजदारी अभियोगका रूपमा अगाडि बढाउनुपर्छ ।’
सांसद सुनारले यस विषयमा तत्काल संसदीय वा अन्य उपयुक्त छानबिन समिति गठन गर्न समितिका सभापतिलाई आग्रह गरे । आफू विगत १८ वर्षदेखि सुरक्षा बिटमा पत्रकारिता गरेको अनुभव सुनाउँदै उनले ठेकेदार र प्रहरी अधिकारीहरूको कल डिटेल र मोबाइल नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचारका ठूला काण्डहरूलाई सामसुम पार्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र दोषीलाई कठघरामा उभ्याउनुपर्ने उनको अडान छ ।


















