प्युठानमा पाँच जनाको शव फेला परेको छ । आज बिहान स्वर्गद्धारी नगरपालिका– ९ जुडापाटास्थित माडी खोला किनारको फरक–फरक स्थानमा पाँच जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरि अधिकारीले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जानकारी दिए । उनका अनुसार मृतक पाँचै जनाको सनाखत हुन बाँकी छ । रोल्पाको पहिरोमा बगेकाहरूको शव खोलाले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको डीएसपी अधिकारीले जानकारी दिए ।
‘भेरिफाइ चाहिँ भएको छैन । तर रोल्पाको पहिरोमा बगेकाहरूको शव हुनसक्ने अनुमान हामीले गरेका छाैँ’, अधिकारीले भने, ‘त्यो खोला उतैबाट आउँछ ।’ गए राति रोल्पाको थवाङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने नाै जना बेपत्ता छन् ।


















