नाडा अटो शो आजदेखि काठमाडौंमा, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शन हुने

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ आजदेखि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु हुँदै छ । अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म प्रदर्शनमा राखिनेछन् ।

हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायतका विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । यसपटकको नाडा अटो शोमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको उत्पादन ‘यात्री पी– २’ समेत प्रदर्शन गरिँदै छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत उल्लेख्य सहभागिता रहनेछ ।

प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । यस्तै, १० वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहने नाडाले जनाएको छ । आजदेखि सुरु हुने अटो शो १४ भदौसम्म ६ दिन सञ्चालन हुनेछ । अटो शो अवधिमा अटोमोबाइलसम्बन्धी नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति तथा नयाँ सवारीसाधनको बढ्दो आगमन र रोजगारीका विषयमा विशेष छलफल कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।