१९ औं पुस्तकालय दिवसको सन्दर्भमा

पुस्तकालय दिवस मनाइरहंदा !

 

पुस्तकालय विधामा नेपालमा केही भइरहेको छ। संसारमै पुस्तकालयलाई जनताको विश्वविद्यालय मानिन्छ। नेपाल अछुतो त छैन, तर पनि १९ औं पुस्तकालय दिवस सम्म आइपुग्दाका कमिकमजोरीहरू छन्। दिवस मनाउनुको साथसाथै सरकारको ध्यान पुस्तकालय नीति, नेपाल पुस्तकालय ऐन तथा पुस्तकालय स्तर एवं कार्यविधिहरू निर्माणमा योजनावद्धरुपमा जानुपर्ने देखियो।
दिवस भन्नाले विश्वले, देशले, समुदाय अथवा परिवारले कुनै विशेष घटना, अमुक उद्देश्य, कसैलाई सम्मान गर्न, कसैको अधिकार आदिको बारेमा सम्झाई राख्न, जनचेतना बढाई राख्न वा त्यस घटना÷विधामा निरन्तर लागिरहन मनाइने समारोह अथवा गरिने कृयाकलापलाई बुझिन्छ। विश्वमा अमुक विधामा वर्षमा एक दिनलाई दिवस भनेर तोकिन्छ र त्यसैको सेरोफरोमा विभिन्न कार्यक्रमहरू सञ्चालन हुन्छन्। अन्तराष्ट्रिय स्तरमै मनाइने दिवसका केही उदाहरणः विश्वमा शान्ति कायम गर्न– अन्तराष्ट्रिय शान्ति दिवस; मानिसलाई निरोगी राख्नः स्वास्थ्य, एडस्, क्यान्सर, क्षयरोग दिवसहरू; अधिकारको प्रत्याभूतिको लागिः मानव अधिकार, महिला, अपाङ्गता, श्रमिक, युवा, खाद्य, बालश्रम विरुद्ध दिवसहरू; पर्यावरण जोगाउनः पृथ्बी, वातावरण, पानी दिवसहरू; शिक्षा क्षेत्रमाः शिक्षा, शिक्षक, साक्षारता दिवसहरू लगायत योग र खुशी दिवसहरू हुन्।
पुस्तकालय दिवस यस्तै दिवस मध्येको संसारमा मनाइंदै आएको अर्को रुप हो। ६ वटै महादेशका विभिन्न मुलुकले राष्ट्रियरुपमा पुस्तकालय दिवस मनाउने गरेकाछन्। यद्यपि, विभिन्न देशले विभिन्न तिथि मितिमा आ–आफ्ना विशेषता अनुरुप यो दिवस मनाउंछन्। उदाहरणको लागि नेपालले भाद्र १५ गते मनाउंछ भने, अमेरिकाले साप्ताहिक भनेर २०२६ मा १९–२५ अप्रिलमा मनाएको रहेछ र भारतले १४–२० नोभेम्बरमा मनाउने रहेछ।
नेपालमा भाद्र १५ गते मनाउनुको कारण छ। नेपालमा पुस्तकालयको सुरुवात त गोपाल वंश एवं किरांतकालमै भएको हुनुपर्छ भनिन्छ। किरांत कालका केही तथ्यहरू लिच्छवी कालका केही अभिलेखमा तथा ताम्रपत्र, भोजपत्र, शिलालेख एवं हस्तलिखित ग्रन्थहरूमा उल्लेखछन् भनेर भोला श्रेष्ठले ‘नेपालमा पुस्तकालय’ कितावमा लेखेका छन्। इतिहास लामो भएपनि, आधिकारिकता खोज्दै जांदा नेपालका विद्वानहरूले १८६९ भाद्र १५ गतेलाई पुस्तकालय स्थापनाको दिन ठहराएका हुन्। सोही दिन श्री ५ गीर्वाणयुद्धबाट ‘पुस्तक चिताई तहबिल’ नामाकरण गरी लालमोहर लगाएर पृथ्बीनारायण शाहको पाला देखिका पाठ्य सामाग्रीहरूको सङ्कलनलाई व्यवस्थित गर्न पं केदारनाथ झालाई दुईजना सहयोगी सहित नियुक्ति दिएको प्रमाणलाई आधिकारिक मानेर, नेपाल पुस्तकालय सङ्घले २०६५ भाद्र देखि नेपालमा पुस्तकालय दिवस मनाउन थालेको हो। चौथो पुस्तकालय दिवस देखि यसलाई शिक्षा मन्त्रालयले अपनत्व दिई, सचिवको अध्यक्षतामा मूलसमारोह समिति गठन भएर मनाईन थालियो, जुन अत्यन्त राम्रो र सकारात्मक पक्ष हो।
पुस्तकालय दिवसका केही आदर्श बाक्यहरू र प्रभावः सबैका लागि पुस्तकालय; एक गाउं एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय; … एक स्थानीय तह एक नमूना पुस्तकालय; सम्बृद्ध पुस्तकालय सुदृढ समाज; आदि हुंदै यस वर्षको आदर्श बाक्य भने ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ रहेको छ। शिक्षा मन्त्रालयले नेतृत्व गर्नासाथ यो देशव्यापी अभियान बन्न पुगेको छ। वर्षेनी मूल समारोहबाट पुस्तकालय अभियन्ता सम्मानीत हुन्छन्, उत्कृष्ट सेवा प्रदान गर्ने पुस्तकालयलाई रु पचासहजार नगद सहित प्रशंसापत्र दिइन्छ, राम्रो काम गर्ने पुस्तकालयाध्यक्ष मध्येको उम्दालाई प्रशंसापत्र दिइन्छ र सबभन्दा धेरै समय पढने पाठकलाई कदरपत्र दिइन्छ। शिक्षा मन्त्रालय मार्फत् सम्बन्धित निकाय हुंदै सातै प्रदेश एवं स्थानीय निकायका शिक्षण संस्था तथा पुस्तकालयहरूमा पत्राचार हुन्छ र महिनौं दिन सम्म ती निकायहरूबाट विभिन्न कार्यक्रमहरू सञ्चालन हुन्छन्। फलस्वरुप पुस्तकालय, यसको उद्देश्य र उपादेयता, पाठकलाई यसबाट प्राप्त हुने सेवा आदिको बारेमा जनचेतनामा उल्लेख्य अभिबृद्धि हुंदैआएको छ।
पुस्तकालयको महत्व र जनशक्ति उत्पादन हेतु त्रिभुवन विश्वविद्यालयले २०३३ देखि भारतका केही विश्वविद्यालयमा पुस्तकालय तथा सूचना विज्ञानमा अध्यापन गराएर पांच वर्षमा १०० जना दक्ष जनशक्ति तयारगर्नेे अग्रता लिएको हो। त्रि.वि.ले पुस्तकालय विभागै गठन गरेर २०५२ साल देखि स्नातक र २०५९ देखि स्नातकोत्तर गर्दै हाल विद्यावारिधीसम्म गराउंछ। त्यस्तै नेपाल खुला विश्वविद्यालयले पुस्तकालय विधामा ४ वर्षे स्नातक तह एवं पुस्तकालय तथा सूचना व्यवस्थापनमा एक वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गरिआएको छ। काठमाडौं विश्वविद्यालयले त पुस्तकालयलाई उच्च प्राथमिकतामा राखी सुरुमै पुस्तकालय स्थापना र विकासको लागि पांच सदश्यीय कार्यदल गठन गरेर अवधारणा तयार गराई, विश्वविद्यालयको पहिलो संरचना २४,६४९ वर्गफिटको पुस्तकालय भवननै निर्माण गरेको थियो।
समस्यामा पुस्तकालय बारे चर्चा गर्दा नेपाल राष्ट्रिय पुस्तकालयको भवन जमल स्थित जग्गामा निर्माण हुने चरणमा मुद्दा परी अडकेको बर्षैं भइसक्यो, राज्यले टुंग्याउन सकेको छैन। २०७२ को भूकम्पबाट जरजर भएको डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयको भवन निर्माण हुनै लाग्दा मुद्दाको कारण अलमलमा परेको छ र सरकारले दरिलो पाइला चाल्न सकेको छैन। भूकम्प पछि सरकारबाट सबलीकरण भएर सेवा सुचारु गर्न थालेको केसर पुस्तकालयलाई विभिन्न कार्यालय निकायले आखां गाढेर सरकारको निर्णयनै गराएर हडप्ने प्रबृत्ति बढदो छ। २०८२ चैत्र ३० गते तालाबन्दी भएर २०८३ श्राबण २० गते ११४ दिनमा खुलेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको यथार्थ पनि गज्जबको छः पुस्तकालय सेवारुपी निकाय भनेर २५ प्रतिसतमात्र भाडा तिर्ने करार भई २०६२ साल देखि सञ्चालनमा आएकोमा ‘टक्का सेर भाजी टक्का सेर खाजा’को चरितार्थ गर्दै समाज कल्याण परिषद्ले ७५ प्रतिसद रकम बक्यौता देखाएर तीर्न नसकेको भनी ताला ठोकेको हो। नआउनुपर्ने यस्ता तमाम समस्याहरू पुस्तकालय क्षेत्रमा एक पछि अर्को आइरहेका छन्, बिडम्बना !
पुस्तकालय नीति आदि विवेचना गर्नुपर्दा शिक्षा मन्त्रालयले पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति २०६४ र पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका २०६९ पारित गरेको हो। ती नीति एवं निर्देशिकामा समयानुकूल थपघट गर्नु पर्ने तथा बोर्ड गठन लगायतका कुनै पनि काम हुंदै भएन। नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय शिक्षा नीति २०७६ आदिमा पुस्तकालयको बारेमा उपयुक्त अंशहरू परेकाछन्।। शिक्षा मन्त्रालयलयले रिड नेपाल र शान्ति भोलन्टियर एसोशीयसनको सहयोगमा २०७८ चैतमा नेपालका सार्वजनिक एवं सामुदायिक पुस्तकालयहरूको स्थिति सर्भेक्षण गरेर नेपालमा सवानौसय त्यस्ता पुस्तकालय रहेछन् र ती मध्ये जम्मा २२७ केहीहदमा ठिकसंग चलेकाछन् भनि पत्तालगाएको हो। सोको आधारमा के कस्ता कठिनाईले पुस्तकालयहरू चल्ननसकेका हुन् अब के गर्नुपर्छ भन्ने दिशाबोध भएको अवस्था छ। हालै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अग्रसरतामा पुस्तकालय नीति र नेपाल पुस्तकालय ऐनको काम अघि बढीरहेको छ। हालका अधिकांश सङ्घीय सांसद्हरूलाई पुस्तकालयको नीति तथा ऐन नभएको कुरा ज्ञात छ। वर्तमान विज्ञान मन्त्री, यस अधि शिक्षा मन्त्री हुंदा पुस्तकालय ऐन छैन भन्ने सुन्दा छक्क परेर तुरुन्तै सुरु गर्ने भनेर लागिपरेकै हुन्।
आसा गरौं १९औं पुस्तकालय दिवसले सरकार, सांसद, पुस्तकालय प्रेमी, पुस्तकालय कर्मी, पाठक, सबैलाई ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ बनाउने दिशामा सक्रिय गराओस्। अब खुल्ने र खुलेका कुनै पनि पुस्तकालय कहिल्यै बन्द नहुन् र पुस्तकालयलाई स्थानीय निकायले आत्मसात गरोस्। आगामी हिंउदे अधिवेशबाट पुस्तकालय नीति र ऐन पारित भई बाल, युवा बृद्ध सबैले नेपालभर निर्वाध पुस्तकालय सेवा उपयोग गर्न पाउन्। अस्तु !

श्री पोखरेल नेपाल पुस्तकालय सङ्घका संस्थापक अध्यक्ष हुन्।