गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले गोरखा जिल्लाका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले जिल्लावासीका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिएर काम गर्ने बताएका हुन्।

गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्दै गुरुङले जिल्लाको विकास र नागरिकका समस्याप्रति आफू जिम्मेवार रहेको बताए। अन्तर्क्रियाका क्रममा सहभागीहरूले जिल्लाको पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले गोरखामा पर्यटकीय सम्भावना पर्याप्त भए पनि विकास तथा प्रवर्द्धनमा सरकारले अपेक्षित चासो नदिएको गुनासो गरेका थिए। साथै, जिल्ला पूर्वाधार विकासमा पछाडि परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।