नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारको गैरकानूनी कामले हद नाघेको आरोप लगाएका छन्। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना गम्भीर आपत्तिजक भएको बताए । प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य-मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति सामान्य नभएको उनको भनाई छ ।
काँग्रेसले सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने र राष्ट्रिय संकटका बेला सरकारसँगै उभिने गरेपनि लोकतन्त्र र नागरिक अधिकारको सवालमा भने सरकारको गलत कदमको प्रतिवाद गर्ने बताए । समाचार प्रकाशित भएको विषयलाई लिएर प्रहरी सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको उनको भनाई छ ।
उनले नागरिक दबाबपछि पक्राउ परेका पत्रकारहरु छुटेपनि यस घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्र सिमित गर्न नहुने बताए ।यसले सरकारले राज्य, आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो । उनले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे।
सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिप्रति नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई सचेत हुन उनले आग्रह पनि गरे । उनले भने,‘जे जस्ता घटनाहरु भएका छन्, त्यसले हामीलाई गम्भीर र चिन्तित बनाएको छ । हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौं । प्रमुख प्रतिपक्षको जिम्मेवारी पनि नयाँ परिवेशमा नयाँ ढङ्गले होस् भन्ने आम नागरिकहरुको अपेक्षा छ । हामी त्यही अनुरुपको भूमिका गर्छौं। जहाँ साथ दिनुपर्ने दिन्छौं, जहाँ सहयोग गर्नुपर्ने गर्छौं ।
तर जहाँ डेमोक्रेसीको कुरा हुन्छ, लोकतन्त्रको कुरा हुन्छ, नागरिकको अधिकारको कुरा हुन्छ, जनताको मौलिक हकको कुरा हुन्छ र यी विषयहरुका सन्दर्भमा भने सरकारले सीमा नाघ्छ भने त्यो बेलामा फेरि हामी चुप बस्दैनौं । हामी प्रश्न गर्छौं । हामी हामी उपयुक्त नीतिको पैरवी गर्छौं। र हामी आवश्यकता पर्यो भने प्रतिवाद र प्रतिरोध पनि गर्छौ। आज त्यस्तै परिस्थिति आएको छ । केही समाचारहरु प्रकाशित भएको आधारमा प्रहरीहरु केही मिडिया हाउसहरुमा प्रवेश गरेर पत्रकारहरुलाई गिरफ्तार गरेको हामीले देख्यौं ।
यो घटनाले हामी सबैलाई केही वर्ष अगाडिको एउटा अप्रिय घटनाको याद दिलायो, शाही कालको याद दिलायो, जतिखेर मिडिया हाउसमा सुरक्षाकर्मीहरु प्रवेश गर्नुभएको थियो। यो घटना पछाडि विरोध भयो, प्रश्नहरु उठ्यो र त्यस पछाडि पत्रकार साथीहरु रिहाइ हुनुभयो । केही साथीहरु पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो अब ? यहाँ सकिँदैन र सकिनु हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो । किनकि यहाँभित्र केही गम्भीर विषयहरु छन् । मुख्य कुरा भनेको यसले उठाएको प्रश्न भनेको सरकारले राज्यलाई कसरी हेरेको छ, कसरी बुझेको छ ? सरकारले आफ्नो अधिकारलाई कसरी बुझेको छ ? सरकारले नागरिकको अधिकारलाई कसरी बुझेको छ ? सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कसरी बुझेको छ ? सरकारले प्रेसको अधिकारलाई कसरी बुझेको छ ? यसले उठाएका प्रश्नहरु यी हुन् । यहाँ भएका हामी सबै के जान्दछौं भने नेपाल प्रहरीको विगत केही महिनाहरुका निर्णयहरु बाट हामी के आनन्द कसैले ढुक्क भएर दाबी गरेर के भन्न सक्छौं भने मिडिया हाउसहरुमा प्रहरी आफैं निर्णय गरेर मिडिया हाउसमा जान सक्दैन ।
प्रधानमन्त्रीसँग कुराकानी गरेर नै प्रहरीहरु मिडिया हाउसमा गएका हुन् भन्ने कुराको बारेमा ढुक्क भएर दाबी जो कोहीले पनि गर्न सक्छ । यो प्रवृत्ति साँच्चिकै हामीलाई चिन्तित बनाउने प्रवृत्ति भएको छ । के लाग्न थाल्यो भने एउटा सानो समूह छ जसले के भन्ठाने भने भन्ठान्न थाल्यो भने वी आर द स्टेट, हामी नै हौं । स्टेट भनेको हामी हो । हामीले बोलेको कुरा स्टेटमेन्ट हुँदैन, हामीले बोलेको कुरा हुकुम हुन्छ । र स्टेटका जति पनि निकायहरु छन्, संस्थाहरु छन्, अड्डा, अदालत, प्रहरी भनेका यी सबै हाम्रा निजी आदेशहरु पालना गर्ने हाम्रा आफ्ना निजी कार्यालयहरु हुन् ।
यो भनेको के हो ? यो भनेको शक्तिको स्वेच्छाचारी प्रयोग हो । डेमोक्रेसीमा सरकारसँग अधिकार हुन्छ, हामी त्यसलाई मान्छौं । त्यसैले त हामी सरकारले भनेका कुरा मान्छौं । तर सरकारको अधिकार कहाँबाट उत्पन्न हुन्छ ? कानूनबाट उत्पन्न हुन्छ । तर जब सरकारको इच्छा नै सरकारमा बसेको मानिसहरुलाई के लाग्छ भने मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्छ, त्यसपछि समस्या शुरु हुन्छ । अहिले भएको त्यही नै हो । यो अलिअलि भइरहेको थियो, यसलाई हामीले कहिलेकाहीँ हेर्यौं, सुन्यौं, यसलाई सामान्यीकरण ग¥यौँ ।
तर यो घटना पछाडि हामी सबैले के महसुस गर्नुपर्छ, हामी सञ्चार माध्यमका साथीलाई पनि भन्न चाहन्छौं, हामी देशभरिका नागरिक समाजलाई भन्न चाहन्छौं, राजनीतिक दलहरुलाई भन्न चाहन्छौं, सबैलाई भन्न चाहन्छौं कि यसलाई सामान्यीकरण नगरौं । यो प्रवृत्ति जसरी देखिएको छ, यसले अब हद नाघेको छ । यसले हद नाघ्यो ।’
उनले सरकारको अधिकारको प्रयोग कानुनी सीमाभित्र हुनुपर्नेमा जोड दिए । काँग्रेसले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका विषयमा सरकारलाई निरन्तर प्रश्न गर्ने तथा आवश्यक परे प्रतिरोधसमेत गर्ने उनको भनाई छ ।


















