चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संविधान र कानुनअनुसार निर्वाचन मिति तय गर्न आवश्यक छलफल भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् । निर्वाचनको वातावरण र पूर्वतयारीबारे छलफल गर्न आयोगले मंसिर ४ गते राजनीतिक दलहरूलाई बोलाएको छ ।

दलहरूसँगको छलफलपछि निर्वाचन मितिबारे निष्कर्षमा पुग्ने आयोगको तयारी छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । आयोगको सिफारिसमा सरकारले निर्वाचन मिति घोषणा गर्ने संवैधानिक प्रावधान छ ।