विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा पर्याप्त लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रममा बोल्दै मन्त्री पुनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत अनुसन्धानमा लगानी गरेकै कारण इजरायल प्रविधि र कृषिमा अग्रणी बनेको उल्लेख गरे ।
उनले वर्तमान सरकारले इतिहासमै पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गरेको जानकारी दिए। मन्त्री पुनका अनुसार सरकारले कृषि औजार, ड्रोन, बायोमेडिकल, एआई, साइबर सुरक्षा र रोबोटिक्सलगायत क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना बनाएको छ।
स्वदेशी निजी क्षेत्र, प्राज्ञिक वर्ग र अन्तर्राष्ट्रिय सहकार्यबाट आगामी १० देखि १५ वर्षभित्र रोजगारी सिर्जना गर्दै नेपाललाई समृद्ध बनाउने लक्ष्य रहेको उनले बताए।


















