देउवा समूहमा लागेका जनप्रतिनिधिलाई कांग्रेसले कारबाही गर्ने

नेपाली कांग्रेसले शेरबहादुर देउवा समूहको समानान्तर महाधिवेशनमा सहभागी हुने पार्टीका जनप्रतिनिधिमाथि अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले अनुशासन समिति गठन गरी राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिसँग स्पष्टीकरण सोध्ने भएको छ। जवाफ चित्तबुझ्दो नभए विधानअनुसार कारबाही अघि बढाइनेछ।

देउवा समूहको समानान्तर महाधिवेशनमा राष्ट्रिय सभा सदस्यदेखि प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्म खुलेर सहभागी भइरहेका छन्। मंगलबारको केन्द्रीय समिति बैठकमा सभापति थापाले पनि पार्टी विधानविपरीत गतिविधिमा संलग्न हुनेलाई कारबाही गरिने स्पष्ट पारेका थिए।