प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सामाजिक सञ्जालमार्फत घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिने जोसुकैलाई पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन्।
उनले कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने काम भइरहेको भन्ने आरोप गम्भीर रहेको बताएका छन्। हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत रूपमा जफत गरी दुरुपयोग गरिएको तथा तयार पारिएको कागज पढ्न बाध्य पार्दै नमाने फसाइदिने धम्की दिइएको भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने उनको भनाइ छ।
हिरासतमा रहेका इनम सापकोटाले श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा सार्वजनिक भएका तथ्यले गम्भीर प्रश्न उठाएको भन्दै आङ्देम्बेले निष्पक्ष छानबिनको आवश्यकता औँल्याएका छन्।


















