बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् ।
भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना २०८१ को बारेमा आज भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्नेमा जोड दिए । राजनीतिक नेतृत्व, कर्मचारी तह लगायत जिम्मेवारीमा रहेकाहरूमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको धारणा राख्दै उनले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।
लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको समेत जानकारी उनले दिए । भ्रष्टाचारलाई शून्यमा झार्ने गरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको उनको भनाई थियो ।


















