रुसले उत्तर कोरियालाई १० लाख ब्यारेल तेल दिएको छ । यो वर्षको मार्चयता उसले उत्तर कोरियालाई १० लाख ब्यारेल तेल दिएको बेलायतस्थित गैर–नाफामूलक अनुसन्धान समूह ‘ओपन सोर्स सेन्टर’ले विश्लेषण गरेको भूउपग्रहमय तस्वीरहरूले देखाएको हो ।
युक्रेनमा युद्धका लागि उत्तर कोरियाले पठाएको हातहतियार र सेनाको सट्टामा रुसले तेलमा भुक्तानी गरेको शीर्ष विज्ञहरू र बेलायती विदेश मन्त्री डेभिड लामीले बीबीसीलाई भनेका छन् । यसरी उत्तर कोरियालाई तेल दिनु संयुक्त राष्ट्र संघ ९यूएन०को प्रतिबन्धको उल्लङ्घन हो । यूएनले देशहरूलाई उत्तर कोरियालाई तेल दिनबाट रोक लगाएको छ । सानो परिणाममा भने रोक छैन ।
रुसको सुदूर पूर्वको तेल भन्डारमा एक दर्जनभन्दा बढी तेल बोक्न उत्तर कोरियाली ट्याङ्कर आइरहेको देखिन्छ । विगत ८ महिनामा कूल ४३ पटक यस्तो भएको देखिएको छ । खुला बजारमा तेल किन्न अनुमति नपाएको उत्तर कोरिया विश्वको एक मात्रै देश हो ।


















