राष्ट्रिय आदिवासी जनजाति अपांङ्ग महिला संघ नेपाल र इन्डिजनियस टेलिभिजनको प्रसारक संस्था इन्डिजिनियस मिटिया फाउण्डेशको संयुक्त आयोजनामा सञ्चारमा आदिवासी जनजाति सञ्चारकर्मीहरुको विषयगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न सञ्चारसंस्थामा आवद्ध रहेका क्रियाशील आदिवासी जनजाति सञ्चारकर्मीहरु सम्मिलित उक्त कार्यक्रम दुइ दिनसम्म भएको थियो ।

कार्यक्रममा आफनो प्रस्तुति राख्नु हुने आदिवासीको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) का सचिव तथा अधिवक्ता भिम राईले भूमि, भूभाग र भूक्षेत्र तथा प्राकृतिकस्रोतसँग आदिवासीको सम्बन्ध निकट रहेको हुँदा यसमा आदिवासी सञ्चारकर्मीको महत्वपूर्ण भूीमका रहने बताउनु भयो । उहाँले आदिवासीको आत्मनिर्णयका अधिकार तथा स्वशासनका लागि नेपालको संविधान २०७२ संशोधन नभई पुर्नलेखन हुनपर्ने भनाई राख्नुभयो ।

दुई दिने कार्यक्रममा इन्डिजिनियस मिडिया फाउण्डेशनका संस्थापक अध्यक्ष देव कुमार सुनुवारले आदिवासी जनजाति पत्रकारिताको अभ्यास र चुनौतिहरुका बारे बोल्नुभएको थियो । उहाँले आदिवासी जनजातिको विषय नेपालमा मुलधारका समाचार संस्थाले वेवास्ता गर्दा आदिवासी मिडियाको स्थापना भएको भनाई राख्नुभयो । अध्यक्ष सुनुवारले आदिवासी मिडिया विकासको सन्र्दभ नेपालमा मात्र नभई पछिल्लो समय विश्वभर आदिवासी बसोबास स्थानमा खोल्ने अभ्यास बस्दै आएको उल्लेख गर्नु भयो ।

दुई दिने तालिममा प्रशिक्षणको क्रममा डा. श्रीकुमार महर्जनले जलवायु परिवर्तनको परिभाषा, यसका न्युनिकरण तथा अनुकुलनको अभ्यास, जलवायु न्याय, आदिवासी महिला,युवा तथा अपांगता तथा जेष्ठनागरीक भएकाहरुको हक अधिकार हनन विरुद्धमा मिडियाको भूमिका कस्तो हुनुपर्छ भनेर प्रस्तुती राख्नुभएको थियो। डा. महर्जनले जलवायु परिवर्तनले प्रकृतिसँग नजिक बसोबास आदिवासी जनजाति समुदाय त्यस समुदायमा पनि अपांगता भएका आदिवासी किशोरी तथा महिलाहरुको अवस्था दर्दनाक बन्दै गएको बताउनु भयो । उहाँले प्रकृतिसँग आश्रीत आदिवासी जनजातिहरु जलवायु परिवर्तनले निम्त्याएको समस्याले गर्दा विस्तापित हुने संख्या बढेको र यस विषयमा विदेशबाट दातृसंस्थाले करोडौं रकम दिए पनि सम्बन्धीत निकायमा नपुगेको उल्लेख गर्नु भयो ।

त्यसैगरी राष्ट्रिय आदिवासी जनजाति अपांङ्ग महिला संघ नेपाल (निडवान)की अध्यक्ष प्रतिमा गुरुङले मिडियामा अपांगता भएका व्यक्तिहरु मात्र नभएर आदिवासी महिला, युवा र अपाङगता भएका आदिवासीको सवाल कम आउनुका साथै आएका समाचारमा पनि अपांगता भएका व्यक्तिहरुलाई आँच पर्ने ढंगबाट प्रस्तुत गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो –अपाङगता भएका व्यक्तिको पनि मानव अधिकारको विषय, समाजमा अरु व्यक्ति सरह बाँच्न पाउने अधिकार भएकोले उनीहरुलाई दया, माया, र विचराको भावनाले हेर्न हुँदैन । उहाँले कार्यपत्र प्रस्तुत गर्नुहुँदै अपांगताभएका व्यक्तिहरुको सवालमा समाचार बनाउँदा ख्याल गर्नु पर्ने सुझाव दिनुभयो । नेपाल मात्र नभई विश्वभर नै आदिबासी जनजाति महिला, युवा, जेष्ठनागरीक र अपाङता भएका समुदायका विषयमा सम्बन्धीत निकाय मौन रहनु र अर्को तिर मूलधारका मिडियाले पनि उनीहरुको अधिकारकोलागि नसमेटदा ति समुदायहरु समस्यामा परेको बताउनु भयो ।

यसैगरि मिडियामा अपङगताको सवालहरुको प्रस्तुति मानध अधिकारमूखी ढाँचा भाषागत शिष्टाचार सम्बन्धमा कृष्ण गहतराजले प्रस्तुति राख्नुहुँदै मुलधारका मिडियाहरुले अपाङ्गताको मुद्धाहरुलाई समावेशी ढंगले नउठाए भन्दै चर्को गुनासो गर्नुभयो । उहाँले अपांगता भएको व्यक्तिमा पनि आदिवासी जनजाति अपांगता भएका व्यक्ति त्यसमा पनि आदिवासी जनजाति अपांगता भएका महिला तथा किशोरीहरुको आवाज विषयबस्तु मिडियाको चाँसोको विषयमा नपर्ने गरेको बताउनुभयो । मिडियाले ति समुदायको आवाज उठान गरे पनि हेयको रुपमा प्रस्तुत गर्दा आफूहरुलाई असही भएको भन्दै रोश प्रकट गर्नु भयो । विशेष गरी मूलधारका मिडियाले अपाङगता भएका व्यक्तिहरुको हकहितकोलागि महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरी इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निमार्ता कुमार यात्रुले आदिवासी जनजातिका विषयमा प्रष्ट पार्नुभएको थियो । उहाँले आदिवासी जनजाति समुदायमा पहिचान, भाषा, संस्कार, संस्कृति, प्रथाजनित संघसंस्था, भुमि अधिकार लगायतका विषयहरु आदिवासी जनजातिको लागि निकै महत्वपूर्ण र मिडियामा आउनुपर्ने विषय रहेको भनाई राख्नु भयो । आदीबासी जनजाति पत्रकारहरु सक्रिय भएर कमल चलाउदै मूलधारको मिडियामा आदिबासी जनजातिका आवाज पुराउन सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

यसैगरि पत्रकार भुवन केसीले आदिवासी जनजातिका सवाल र रिर्पोटिङका सम्बन्धमा प्रस्तुति राख्नुभएको थियो । उहाँले आदिवासी जनजातिका सवालमा आदिवासी जनजाति पत्रकारले मात्र नभई गैरआदिवासीले पनि चलाउनु पर्नेमा जोडदिनुभयो । आदिबासीको समस्या उठान मूलधारको मिडियामा पुग्नु पर्नेमा बताउनु भयो ।
कार्यक्रमको पहिलो दिनको उद्घाटन आदिवासी जनजाति आयोगकका अध्यक्ष राम बहादुर थापामगरले गर्नुभएको थियो। उहाँले कार्यक्रममा सम्बोधन गर्नुहुँदै आयोगको काम आदिवासी जनजाति समुदायको मुद्धाको सवालमा सरकारलाई सिफारिस गर्ने काम मात्र भएकोले आयोगले गरेको सिफारीसको विषयमा सरकारले कार्यन्वयन गरे गरेन भनेर सञ्चारकर्मीहरुले रिर्पोटिङ मार्फत खबरदारी गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले भने आदिवासी अपांगता भएका व्यक्तिहरुको सवालहरु र शब्द चयनका विषयमा संबन्धित संघसंस्था तथा अधिकारर्मीहरुले अभिमुखीकरण तालिमहरुको संचालन गरि जानकारी दिन आवश्यक रहेको बताएका थिए । मिडियाम चलनचलतीका शव्दहरु बढि चल्ने भएकोले समय–समयमा अधिकारकर्मी संघसंस्था र संचारगृहबिच सहकार्य हुनुपर्ने पत्रकार रन्जित तामाङले बताउनुभयो ।
दुई दिने कार्यक्रममा संचारिका समूहका अध्यक्ष विमला तुम्खेवा, राष्ट्रिय सभा सदस्य शुरेश आलेमगर, नेपाली काँग्रेसका सांसद संसदीय दलका सचेतक शशिला थिङ, राष्ट्रिय आदिबासी महिला महासंघका अध्यक्ष ङिमी शेर्पा लगायतले पनि आदिबासी जनजाति, महिला, अपाङगता, जेष्ठनागरीक, युवाका विषयलाई उठान गर्न पत्रकारहरुले आफ्ना कलम मार्फत खबरदारी गर्नु पर्नेमा जोड दिनु भएको थियो ।






















