तामाङ समुदायको विवाहमा चोखी वा जुठीको कुरा उठ्दैन भन्ने झुठो हो

अधिवक्ता रबिन्द्र तामाङ (नारदेन) जो पेसाले  मानवअधिकारवादी, अन्र्तराष्ट्रिय कानून तथा संवैधानिक कानूनका प्राध्यापक हुनुहुन्छ । उहाँसँग केशवराज अर्यालले गर्नु भएको कुराकानी

छुइन्द्र लामा नारदेन तामाङद्धारा लिखित र तपाईद्वारा सम्पादित ‘जीवन अनुभूति’ : नारदेन (ङारदेन) थर तामाङबारे अध्ययन’ नामक पुस्तक कस्तो पुस्तक हो ?
यो पुस्तक मूलत बुवाको जीवन अनुभव, जीवन भोगाइ साथै एउटा खोज र अनुसन्धानबाट तयार पारिएको अनुसन्धानमूलक कृति हो । किनकि यो पुस्तक तयार पार्दा म र मेरा दाजुभाईहरु विभिन्न ठाउँमा पुगेर स्थलगत अध्ययन र अनुसन्धान गरी विभिन्न पुस्तकहरु पढी त्यसका आधारमा तयार पारिएको अनुसन्धानमूलक पुस्तक हो ।

अनुसन्धानमूलक पुस्तक भन्नुभयो पुस्तकमा के–के कुरा अनुसन्धान गर्नुभएको छ ?
यसमा धेरै बिषय छन जस्तो कि श्री ५ सुरेन्द्रबाट वि.सं १९३१ मा जारी सनदपत्र, भोजपुर खम्बुखाको नारदेन (ङारदेन) वंशवृक्ष, ङारदेनवंश तामाङबारे भ्रम र यर्थाथ,तामाङ समुदायलाई वि.सं १९१० को मुलुकी ऐनमा किन मासिन्या मतवाली लेखियो भन्ने लगायत रणबहादुर शाहको चिठ्ठी र नुवाकोटमा तामाङ विद्रोह र नेपालमा आदिवासी जनजाति सवाल जस्ता धेरै विषय छन ।

पुस्तकमा जातीय कुरा बढी छन् ?
छैन । म जातीय कुरा गर्ने मान्छे नै होईन, न त म कुनै जातिको पुर्खा, शासक हँुदा उसले गल्ति गर्‍यो वा अन्याय गर्‍यो भनेर अहिले उनका सन्तासँग बदला लिनु पर्दछ भन्ने सकिर्ण सोच राख्ने व्यक्ति नै । अहिले कितावमा जातीय विषय उठान गरेको कथाले मागेर मात्र हो । ‘नेपालमा आदिवासी जनजाती सवाल’ भन्ने शिर्षकमा यसबारे प्रष्ट छ ।

तपाईको बुवाले लेखि तपाईले सम्पादन गरेको परशुराम तामाङले लेख्नुभएको र नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नारदेन (ङारदेन) वंश र तामाङ महिलाको बारेमा गलत भाष्य आउने गरि लेखे भन्ने पनि पुस्तकमा छ, वास्तिकता के हो ?
हो, तपाईले सहि प्रश्न सोध्नुभयो । परशुराम तामाङले नारदेनले (ङारदेन) वंश तामाङको बारेमा अध्ययन नगरी, हामीलाई नसोधी, ङारदेन वंशको बारेमा गलत कुरा लेखेर भ्रम छर्नु भएको रहेछ । उहाँ पढेलेखेको बुद्धिजीवी भएर पनि उहाँले नारदेनको बारेमा भ्रमपूर्ण कुरा लेख्नुभएको रहेछ । परशुराम तामाङले ङारदेनका बारेमा लेखेका कुरामा कत्ति पनि सत्य छैनन् । ङारदेन र ङार्वा एउटै हुन भने जस्तै गरी बडो पुर्वाग्रही र नश्लीय सोचका साथ लेख्नुभएको रहेछ । उहाँ सहित केही तामाङ लेखकले नारदेन ‘ङारदेन’ वंशका बारेमा अध्ययन अनुसन्धान नगरिकन सुनेको भरमा भ्रामक लेख लेखी लेखाई राम्रैसँग व्यापार व्यवसाय चलाउने गरेको समेत पाइयो । परशुराम तामाङद्वारा लिखित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल प्रज्ञा प्रतिष्ठान) बाट वि.सं २०५१ सालमा लिखित तथा प्रकाशित ‘तामाङ जाती’ नामक पुस्तकमा ङारदेन वंशका तामाङ र ङार्वा एउटै हो भन्ने आशयले प्रकाशन गर्नुभएको रहेछ ।

उहाँले ङारदेन पनि होइन ङारतेन भनी बिगारेर लेख्नुभएछ । अझ उहाँले उक्त पुस्तकमा विदेशी लेखक क्याप्टेन इडेन वंशीटार्ट (Captain Eden Bansitart)  र सि.जे. मोरिस (C.J. Morris)जस्ता लेखेकका किताव भनी पादटिप्पणी(Footnote) अर्थात स्रोत समेत उल्लेख गरी विदेशी लेखकले ङारदेन वंश तामाङ र ङार्वा एक हुन् भनी लेख्दै नलेखेको, भन्दै नभनेको कुरालाई उहाँले जवरस्ती लेख्नुभएको छ । जुन यर्थाथ होईन । वंशीटार्ट र सी.जे. मोरीस महोदयले लेखेका कुरा चाहिँ ‘गोथर’, ‘साङग्री’ र ‘ङार्वा’ थर पनि तामाङभित्र हुन्छन् भनेका हुन् । जसको अर्थ ङारदेन र ङार्वा एउटै हुन भनेको चाहिँ कदापी हुदैँ होईन ।

‘ङारदेन’ ङारदेन मात्र हो, ङार्वा होईन् । परशुराम तामाङ र प्रज्ञा प्रतिष्ठानले नारदेन (ङारदेन) वंश तामाङ बारे गलत व्याख्या (Misinterpretation) गरी गराई अस्तित्व नै समाप्त गरी अन्याय गरेका छन् । त्यस्तै उहाँले ‘‘तामाङ समाजले ‘यौन सम्बन्ध’ लाई विशेष महत्व दिएको देखिदैंन । विवाहपूर्व पनि मेलापात जाँदा वा बनपाखा जाँदा वा नाँचगान गर्दा पनि मन परापर गरेका केटाकेटीे अलग्गै बसी यौन सम्बन्ध राख्न सक्छन्, तर त्यसले केटीे चरित्रहीन भन्ने अर्थ लाग्दैन । त्यसैले तामाङ विवाहमा चोखी वा जुठीको कुरा उठ्दैन, जुन कुरा हिन्दू अवधारणा भन्दा विल्कुल फरक छ’’ भन्ने झुठ कुरा पनि लेख्नुभएको छ ।

सो कुरा सत्य होईन । तामाङ समुदायमा त्यस्तो चलन छँदैछैन, हुँदै होइन । उनले लेखेका पुस्तकमा यी बारेमा चाँही सत्यता छैन बिल्कुल झुठ छन् । यस्तो लेखाईले तामाङका छोरी चेलीहरु, दिदीबहिनीहरु सुरक्षित हुँदैनन् । यस्ता कार्य अपराधजन्य कार्य हो । नेपालको संविधान २०७२ को धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने अधिकार, धारा १८ ले समानताको हक अन्तर्गत राखिएको मौलिक हकको धज्जी उडाएको छ । साथै नेपाल UNDRIP लगायत धेरै जसो कोर मानव अधिकार सम्बन्धी महासन्धिको पक्षराष्ट्र रहेको हुनाले लेखक परशुराम तामाङ र प्रकाशक प्रज्ञा प्रतिष्ठानको उक्त कार्यले नारदेन (ङारदेन) वंशका तामाङ र समग्र तामाङ महिलाहरुको कानूनी हकको उल्लंघन गरेका छन् । जुन कुरा सबै तामाङ समुदायका मानिसलाई प्रज्ञा प्रतिष्ठानको पुस्तकलायमा गएर एकचोटि उक्त कितावमा उक्त विवादित तथा अपमानजन्य कुरा हेर्न अनुरोध गर्दछु ।

यो विषयमा लेखक र सरोकारवाला निकायलाई भन्नुभएन ?
नारदेन (ङारदेन) तामाङको एक थर हो । हामी नारदेन (ङारदेन) वंशका तामाङ हौं । अन्य बारेमा हामीलाई थाहा छैन् । उहाँद्वारा ङारदेन वंशका बारेमा लेखिएको लेख प्रकाशन भ्रमपूर्ण छ । आपत्तिजनक छ । सत्यता कति पनि छैन् । उहाँलाई भेटेर सम्मानपूर्वक उक्त गम्भीर तथा भ्रामक लेख तथा थर बारे सच्याउन ध्यानाकर्षण गरीसकेका छौं । यसबारेमा सम्बन्धित निकाय जस्तो ‘नेपाल तामाङ घेदुङ’ लाई १२ पृष्ठको विरोधपत्र ङारदेन वंशका केही प्रतिनिधिहरुले समन्वय गरी उक्त भ्रामक तामाङ दुई थरको सूचीहरुलाई सच्याउन लेखी लेखाउन निवेदन गरीएको छ ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कुलपति भुपाल राई, सदस्य सचिव डा. धन प्रसाद सुवेदीज्यू लगायतलाई अनुरोध गरिसकेका छौ । नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री मुख्य संरक्षक र पर्यटन मन्त्री संरक्षक रहने व्यवस्था छ । त्यसैले पूर्व पर्यटनमन्त्री हित बहादुर तामाङज्यूलाई यस बारेमा जानकारी गराई घेदुङमा दिइएको विरोध पत्रको बोधार्थ समेत दिइएको छ । यस बारे सम्माननीय प्रधानमन्त्रीज्यूलाई समेत भेटी उक्त भ्रम हटाउन अनुरोध गर्ने कार्यक्रम समेत रहेको छ । नेपाल सरकारको राष्ट्रिय ढुकुटीबाट वर्षको करिब १५/२० करोड विनियोजन भई सम्पूर्ण जातजाति, भाषा उत्थान गरी अनुसन्धानत्मकमूलक पुस्तकहरु प्रकाशन गर्ने जिम्मा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानलाई यस्ता झुठ तथा बेइज्जत हुने कुरा लेख्न, छाप्न कुनै पनि अधिकार छैन ।

कानून भन्दा माथी कोही पनि छैन । गलत, मानकीकरण र भाष्य बनाई प्रज्ञा प्रतिष्ठान, परशुराम तामाङ, सैलुङ प्रकाशन लगायत कसैलाई पनि नारदेन (ङारदेन) तामाङ र सम्पूर्ण तामाङ महिलाहरुको अपमान, वेइज्जत गर्ने कार्य गर्न, गराउँन छुट छैन ।

पुस्तकमा तामाङ थर कसरी लेख्न पाईयो भन्ने पनि छ यसबारे पनि बताई दिनुस न?
ई.स. १९२९ मा श्री ३ भीम समशेर राणाले भोजपुर सिम्पानेकी २४ वर्षीय दिलकुमारी तामाङसँग विवाह गरे । उनले हाल नक्साल स्थित बालमन्दिरमा सीता महारानीको नाउँमा एक महल बनाउन लगाए । त्यस बेला दिलकुमारी तामाङ (सीता बडा महारानी) को नाउँ मात्र परिवर्तन गरिएको थिएन, तिनका तीनै जना दाजुहरु राजमान, हडमान र धनसिंह तामाङलाई जनै दिएर ‘पाण्डे’ थर दिइ ज्ञानेश्वर क्षेत्रमा बसोबास गराइएको बताइन्छ ।

तत्कालीन दरबारीया ब्राह्मण काशीनाथ दीक्षितले ‘भोटेलाई जनै’ दिएको भनी विरोध जनाएका थिए । त्यसपछि श्री ३ भीमशमशेरले दीक्षित परिवारको मौजाहरण गरी भारतको बनारस र बेतिया तीर खेदेका थिए । यसरी बडामहारानी बन्न पुगेकी कुलमान तामाङकी कान्छी छोरी सीता महारानीसँग नजिकीएका सरदार जङगवीर तामाङले तामाङ समुदायलाई, भोटे, मुर्मी, कागते नभनी आफ्नै साविकको पहिचान ‘तामाङ’ नै लेखी भनि पाउँ भनी भीम शमशेर समक्ष जाहेरी गरेका थिए र भीम शमशेरले तामाङ भन्नु, लेख्नु, लेखाउनु भनी एक ऐतिहासिक इस्तिहार जारी गरेका थिए ।

सीता बडामहारानीलाई भीम शमशेरले टाँचा लगाउने जिम्म्ेवारी दिइए वापत वर्षको १ लाख ७ हजार रुपैयाँ पाउँथिन् । यो कुरा पनि पुस्तकमा छ । त्यस्तै पुस्तकमा वि.सं १९१० को मुलुकी ऐन मार्फत तामाङ जातीलाई गरेको विभेद र १८५० मा रण बहादुर शाहले नुवाकोटका १ हजार जना मुर्मी (तामाङ) काटेको पत्र लगायत धेरै बिषय छन् ।

बुवालाई किताव लेख्ने उत्प्रेरणा कसरी आयो ?
म एकदुई कक्षामा पढ्दाखेरी नै आपा छुइन्द्र र उहाँका बुवा बुद्धिमान नारदेन बेलुका प्राय: राजनीति र इतिहासका कुरा विशेषगरी जंग बहादुर राणा र पृथ्वीनारायण शाहका बारेमा कुरा गरिरहनुभएको मेरो मानसपटलमा ताजै छ । पाकाहरुबाट सिकेको कारण उहाँसँग ज्ञानको अथाह भण्डार छ भन्ने लाग्यो । उहाँ अहिले पनि कुनै न कुनै किताव पढेर बस्नुहुन्छ । उहाँ कुनै समयमा एक सफल राजनीतिज्ञ र समाजसेवीको रुपमा सक्रिय व्यक्ति हुनुहुन्थ्यो । सायद आफुले जानेको ज्ञान सबैलाई दिउँ भनेर यो पुस्तक लेख्न सुरु गर्नु भएको हो । उहाँ राजनीतिक चेतना भएको व्यक्ति हुनुहुँदो रहेछ । पञ्चायतकालमा जनप्रतिनिधिमा निर्वाचित भई राजा महेन्द्रको ‘गाउँ फर्क अभियान’ को एक अभियान्ता समेत भएको उहाँको नाउँको चिठ्ठी पत्रहरु हेर्दा थाहा पायौं ।

उहाँले लेख्नुभएका थुप्रै गित तथा कविता संग्रह आदि २०१२ सालदेखि नै लेख्दै आउनुभएको रहेछ, जुन प्रकाशन हुन बाँकी छ । उहाँ मलाई मुर्धन्य इतिहासकार महेशराज पन्तज्यू जस्तो लाग्दछ अध्ययन र ज्ञानको हिसाबले । त्यसैले हामी सबै छोराहरु, बुहारीहरु तथा भतिज अरविन नारदेन समेतको सहयोगमा यो पुस्तक प्रकाशन गरेका हौं ।