सिंगापुर र मलेसियामा खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई

सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मंगलबार एक कार्यक्रम गर्दै फुटबल टोलीलाई बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद ९राखेप० सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाइ गरे । नेपालले यही मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ ।

अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो । रोसको प्रशिक्षणमा नेपाली टोलीले दुई साताको प्रशिक्षणपछि सिंगापुर जान लागेको हो । रोसले सिंगापुर र मलेसियाका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । यस पटक गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी तीन नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

नयाँ कोचको आगमनपछि टिम धेरै कुराहरु फरक रहेको र केही खेलपछि त्यो देखिने कप्तान किरण चेम्जोङले बताए । उनले सिंगापुर र मलेसिया विरुद्ध राम्रो प्रदर्शन गर्ने बताए । यो दुई खेलले आगामी साफ च्याम्पियनसिपको लागि पनि राम्रो तयारी हुने किरणले बताए ।

यस्तै प्रशिक्षक म्याट रोसले दुई साता तयारी राम्रो भएको र यस टुरमा राम्रो प्रदर्शन गर्ने बताए । उनले टिममा अनुभवी र नयाँ क्षमतावान खेलाडी भएको भन्दै आफू एकदमै उत्साहित रहेको बताए । एसियन कप छनोटको अन्तिम चरणमा नेपाल समूह एफमा छ । यस समूहमा नेपाल र मलेसियासँगै भियतनाम र लाओस छन् । अन्तिम चरणमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।

होम एण्ड अवेका आधारमा समूह चरणको खेलपछि ६ वटै समूहको शीर्ष स्थानमा रहने टिम सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुनेछ ।