– अच्युतप्रसाद पौडेल ‘चिन्तन’
पानी जीवन हो, जीवन पानी । हाम्रो शरिरमा दुई तिहाईको मात्रा पानी नै छ, जसरी संसारमा दुई तिहाई पानी नै छ । जीवनको शुरुवात पानीबाटै भएको हो र बस्ती पनि खोला, नदी नजिक नै छन् धेरै, अथवा भनौँ मानव सभ्यता पानीबाटै शुरु भएको हो ।
मार्च २२ विश्व पानी दिवस, हाम्रो देशमा पानी धेरै छ, ब्राजिलपछिको दोस्रो हो संसारकै धेरै पानी हुने देश हाम्रो, तर ६ हजार बढी नदीनालाहरुको पानी खेर गएको छ, पिउने पानीको अभाव छ, सिँचाइमा पर्याप्त पानीको अभाव छ, भएका पानी प्रदूषित नै छन्, जलविद्युत्को अधिक सम्भावनाको देशमा सवा सय वर्षमा तीन हजार मेगावाट विजुली उत्पादन मुस्किल छ ।
हाम्रो पुर्खाले पानीको देवता वरुणलाई मान्यो र तिनको पूजा गर्यो तर अहिले देवता मान्न समस्या छ हामीलाई, विज्ञानलाई र हाम्रो नेतृत्वलाई । जल संरक्षण र चोखो राख्न पुर्खाले, धर्मले पानीमा फोहोर गरेमा मृत पित्रृीको मुखमा पर्छ भनी डर देखाएर पानी, जलाशय, हिँटी, कुवा, इनार सफा राख्न खोजे । अहिले धर्म बिर्सेकाले कतै सफा छैन, खोलाहरुमा पानी होइन ढल बग्छन् । काठमाडौँ उपत्यकाका नदीनालाहरुमा जलचर छैनन्, जलचर नहुने पानी अशुद्ध हुन्छ, विषाक्त हुन्छ, त्यसमा खान त के स्नान र श्पर्शको गुण पनि हुन्न, अतः हाम्रो राजधानीलाई मृत्युको सहर भन्दा अत्युक्ति हुन्न, यहाँका पवित्र वाग्मती, विष्णुमतीहरुमा शुद्ध पानी देखिँदैन । शास्त्रले भनेको छ, पाप भन्नु नै प्रदूषण हो ।
काठमाडौँ उपत्यकाका लागि दैनिक पानी ४३ करोड लि.आबश्यक छ, तर उत्पादन र वितरण जम्मा १३ करोड लि.मात्र छ भने सुख्खायाममा यो ११ करोड लि.मा झर्छ । देश जिम्मा लिनेहरु भने यसलाई सिँगापुर बनाउँछु भने जहाँ पानीको कुनै स्रोत छैन, अर्को देश मलेसियाबाट पाइपद्दारा पानी वितरित छ र सडकका धाराहरुमा राम्रो पानी पिउन सकिन्छ । पूरै ३५ वर्ष भयो, काठमाडौँको घाँटी सुकेको, मेलम्ची त ब्यूँझियो तर उद्घाटनका लागि मात्रै धेरै समय, हिउँदमा झर्न थालेको मेलम्चीले सडकमा पहिरो थप्यो, हाम्रो पूर्वाधार कति कच्चा छ । शुष्क कण्ठमा पानीको बूँदले अमृतको काम गरेको थियो तर आकाशमा बादल लाग्यो, मेलम्ची सुतिहाल्ने हाम्रो विगत छ ।
वर्षामा पानी अधिक छ, सन्चिति छैन, देशै बगाउँछ हिउँदमा यसको अभाव खड्किन्छ । मानव मित्र वनस्पतिदेखि संसारका कुनै पनि प्राणी पानी बिना जिउनै सक्दैनन् । वेदले भन्यो द्यौः शान्तिः, पृथ्वी शान्तिः, अन्तरिक्षः शान्तिः, आपः शान्तिः, वनस्पतयः शान्ति, औषधयः शान्तिः भनौँ ब्रह्माण्डभरि सबैतिर सफा र शान्ति । यहाँ आपः भन्नाले पानी हो, पृथ्वीको अर्थ हुन्छ माटो र अन्तरिक्ष भन्नाले सम्पूर्ण वायुमण्डल भनौँ सबैथरि औषधि लगायतका वृक्ष, लता र सबै चराचर जगत् । आज त्यसैलाई भूमण्डलीकरण, विश्व एक गाउँ, बसुधैव कुटुम्वकम् आदि नाम दिइएको छ । तर हामीले वेद बिर्सियौँ, नासाका वैज्ञानिक र जर्मनी लगायतका देशहरुले यसलाई खोज्दैछन् ।
हाल विश्वका २७ प्रतिशत मानिस पिउने सफा पानीबाट वन्चित छन् भने ४३ प्रतिशत मानिस सरसफाइबाट वन्चित छन् । विश्वका करिब आधा मानिसले वर्षमा १ महिना पानीको अभावबाटै जीवन गुजारा गर्दैछन्, सफा पानीको अभावमा झाडापखालाका कारण वर्षेनी ८ लाखको ज्यान जाने गरेको युनिसेफले जनाएको छ । स्वच्छ पानीको अभावमा दैनिक १ हजार र वर्षमा ५ लाख बालबालिकाको ज्यान जाने गरेको छ जसमा धेरै न्यून र मध्यम आय भएका राष्टृहरु नै परेका छन् । यु एन का विज्ञहरुले भन्ने गरेका छन् हरेक १ डिग्री तापक्रम बढ्दा नवीकरणीय जलस्रोतमा २० प्रतिशतले कमी आउँछ । अहिले सबैतिर जलाशयको संकट छ, १ जना मानिसले खपत गर्ने उपभोग्य खाद्यान्न उत्पादनका लागि करिव ५ हजार लि.पानीको आबश्यकता पर्छ, भनौँ विश्वको ७० प्रतिशत पानी कृषिकार्यमा खपत हुन्छ, ११ प्रतिशत अन्य उद्योगहरुमा र पिउनयोग्य पानीको प्रयोग जम्मा ११ प्रतिशत मात्रै हो । यो शताब्दीमा जनसंख्या वृद्धि दरभन्दा पानीको खपत दोब्बरले बढेको छ, जन्मदरको कुरा गर्दा आउने सन् २०५० सम्ममा पृथ्वीमा मानिसको संख्या ९ अर्ब पुग्नेछ र विश्व बैँक आपैmँ भन्दैछ त्यतिबेला सम्म अन्नको उत्पादन ७० प्रतिशतले वृद्धि गर्नु पर्छ । विकासशील देशहरुमा खानाको आहारमा परिवर्तन भइरहेको र क्यालोरी खपत वृद्धि भइरहेकाले सहजै अनुमान गर्न सकिन्छ भोलि हामीलाई पानी कति चाहिन्छ भनेर । पानीको संकट बढ्नाले खाद्य असुरक्षा बढ्ने स्पष्टै छ भने अहिले नै हामीकहाँ वर्षेनी १५ हजार बालबालिकाले झाडापखालाका कारण अकालमा ज्यान गुमाइरहेका छन् । जमिनमा उष्णीकरण तीब्र छ, खडेरीकै कारण सन् २०३० सम्ममा विश्वमा ७० करोड मानिस विस्थापित हुने खतरा छ । सं रा सले विश्व पानी दिवस मनाउन थाल्यो, सन् १९९३ देखि हरेक वर्ष, नेपालमा सन् २००९ देखि मात्रै हो ।
पानी जमिनमा छिर्दा रिचार्ज सरह हुन्छ, सडक पिच, बाटो ढलानले जमिनभित्र पानी जान नसक्ने अबस्था छ, भूमिगत पानीमा अमोनिया, नाइटृेट, आइरन र आर्सेनिक हुने हुँदा सिधै पिउन अयोग्य हुन्छ । नेपालमा सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइको लक्ष्य छ । विश्वमा ९७ प्रतिशत पानी समुद्री छ जुन खासै प्रयोगमा हुन्न, ताजा पानी जम्मा ३ प्रतिशत, त्यसमा दुई तिहाई हिमाली र हिमनदीमा छ, कतै हिउँमै पुरिने गर्छ पानी, प्रयोग योग्य त केवल १ प्रतिशत मात्रै हो, संसारमा पानी उत्पादन र वितरणकै लागि ३५० अर्ब डलर वार्षिक खर्च हुने गरेको छ, माग बढी छ, आपूर्ति संकुचन । अब विश्व युद्ध हुने हो भने पानी र खाद्यान्नकै लागि हुन्छ, हामीले भएको पानीलाई आजैदेख सदुपयोग गरौँ, पानी दिवस मात्रै मनाउने होइन व्यवहारिक कर्म पनि गरौँ ।


















