हृदयेन्द्र शाहलाई राजा बनाऔं, कमल थापा

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।

१५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा थापाले यस्तो बताएका हुन् ।

 

उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०÷२१ वर्षको हुनुभयो ।’

उनले ज्ञानेन्द्र शाहको विकल्पमा जान सकिने बताए । उनले भने, ‘यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ । तर यसमा सहमतिमा हुनुपर्छ ।’

उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरूलाई प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको भन्दै आफूहरूले निर्बाध रूपमा आफ्नो गतिविधि गर्न पाउनुपर्नेमा जोड दिए । उनले आफूहरूको आन्दोलन नितान्त शान्तिपूर्ण हुने भन्दै प्रशासनसँग भिडन्त गर्ने पक्षमा नरहेको जिकिर गरे ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफूहरूको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको आरोप लगाए ।
अध्यक्ष लिङ्देनले आफूहरूले रत्नपार्कमा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्रीले त्यही नजिकै जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिनुले आफूहरूको कार्यक्रमलाई भड्काउन खोजिएको बताएका हुन् ।
उनले सरकारको तर्फबाट मुठभेड निम्ताउने क्रियाकलाप भएको आरोप लगाए । अध्यक्ष लिङ्देनले आफूहरूको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजार भन्दा बढी स्वयंसेवक परिचालन गर्ने जानकारी दिए ।

राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनको भनाइ छ । उनले राजनीतिक स्वार्थका लागि नभई नेपालजस्तो देशका लागि भोटको राजनीति भन्दा माथि रहने अभिभावकीय संस्थाका रूपमा राजा रहनुपर्नेमा जोड दिएको बताए ।