दक्षिणी गाजाको अस्पतालमा इजरायली क्षेप्यास्त्र हमला, तीन पत्रकारसहित १५ जनाको मृत्यु

सोमबार दक्षिणी गाजाको नासेर अस्पतालमा भएको इजरायली क्षेप्यास्त्र हमलामा तीन पत्रकारसहित १५ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हमला अस्पतालको चौथो तलामा भएको थियो । मारिने पत्रकारहरूमा अल जजिरा र रोयटर्स समाचार संस्थामा कार्यरत व्यक्तिहरू थिए ।

स्वास्थ्य मन्त्रालयले यो हमला ‘डबल ट्याप’ शैलीको भएको जनाएको छ, जसमा एकपछि अर्को गरी दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको थियो । लगातारको प्रहारले गर्दा घाइतेहरूको उद्धार कार्य थप चुनौतीपूर्ण र खतरनाक बनेको थियो ।

यस हमलाको विषयमा इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, इजरायलले विगतमा अस्पतालहरूमा गरिएका हमलाहरूलाई हमासका लडाकुहरूले त्यहाँबाट ‘कमान्ड र कन्ट्रोल सेन्टर’ सञ्चालन गरिरहेको भन्दै जायज ठहर्‍याउँदै आएको छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार इजरायल-हमास द्वन्द्व सुरु भएयता हालसम्म १९२ पत्रकार मारिएका छन्, जबकि केही मिडिया रिपोर्टहरूले यो संख्या २०० भन्दा बढी रहेको दाबी गरेका छन् । यसको तुलनामा, रुस-युक्रेन युद्धमा हालसम्म केवल १८ पत्रकारको मृत्यु भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो युद्धमा हालसम्म ६२ हजार ६ सय ८६ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।मृतकहरूमध्ये करिब आधा संख्या महिला र बालबालिकाको रहेको अनुमान गरिएको छ ।