विश्वभर महिलाको अधिकारका लागि बढ्दै गएका जोखिमहरु मध्ये डिजिटल दुर्व्यवहार र डिजिटल हिंसा पनि रहेका छन्। अध्ययनहरूले, विश्वका आधाजसो महिलाले कुनै न कुनै प्रकारको अनलाइन उत्पीडन वा दुर्व्यवहारको सामना गरेको देखाउँछ। किशोरीका लागि, यस्तो दुर्व्यवहार प्रायः १२ देखि १४ वर्षको उमेरमै सुरु हुन्छ, जुन समय उनीहरूको सामाजिक र भावनात्मक विकास समेत बढ्दो रुपमा अनलाइनमा प्रस्फुटित भईरहेको हुन्छ।
आज काठमाण्डौंमा, संयुक्त राष्ट्रसंघले, सञ्चार तथा सूचना प्रविधि मन्त्री, माननीय जगदीश खरेलको प्रमुख आतिथ्यमा, नेपालमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरेको छ। यसले महिला र किशोरीका लागि डिजिटल स्पेसलाई सुरक्षित बनाउने नेपालको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। यस वर्षको विश्वव्यापी नारा “सबै महिला र किशोरी विरुद्ध हुने डिजिटल हिंसा अन्त्य गर्न एक होऔँ” ले तिव्र रुपमा फैलिँदै गएको डिजिटल परिवेशमा, युवाहरुको सुरक्षा सुनिश्चित गर्नु अत्यावश्यक रहेको इंगित गर्दछ।
कार्यक्रममा बोल्दै माननीय मन्त्री खरेलले, प्रत्येक नेपाली नागरिकको लागि सुरक्षित, समावेशी र सशक्त डिजिटल इकोसिस्टमको आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अबको नेपालको विकसित डिजिटल परिदृश्यमा डिजिटल सुरक्षा नागरिक सहभागिता, सूचनामा पहुँच र अधिकारको पूर्ण प्रयोगको केन्द्रबिन्दु हो।”
संयुक्त राष्ट्र संघको तर्फबाट बोल्दै, आवासीय संयोजक हाना सिंगर-ह्याम्डीले डिजिटल हिंसा महिला र किशोरीहरूको अधिकार, मर्यादा र स्वायत्ततामाथिको आक्रमण मात्र नभई सार्वजनिक जीवनमा उनीहरूको सहभागिताको लागि प्रत्यक्ष खतरा पनि भएको कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अनलाइन दुर्व्यवहारले महिला पत्रकारहरूलाई मौन बनाइरहेको छ, महिला नेताहरूलाई निरुत्साहित गरिरहेको छ र किशोरीहरूलाई डिजिटल स्पेसहरूबाट टाढा धकेलिरहेको छ। महिला र किशोरीहरूका लागि अनलाइन माध्यम सुरक्षित बनाउन, समग्र समाजले हानिकारक मूल्यमान्यताहरूलाई चुनौती दिन, जबाफदेहितालाई बलियो बनाउन र डिजिटल अधिकारको सुरक्षा गर्ने प्रणालीमा लगानी गर्न आवश्यक छ।” उहाँले उत्थानशीलता निर्माण गर्न, मनोवृत्ति परिवर्तन गर्न र सम्मानजनक अनलाइन व्यवहारलाई प्रवर्द्धन गर्न, किशोर किशोरीहरू – विशेष गरी किशोरहरूलाई डिजिटल साक्षरताको आवश्यकता रहेको कुरा प्रकाश पार्नुभयो।
संयुक्त राष्ट्र संघको तर्फबाट बोल्दै आवासिय संयोजक श्री हाना सिङ्गर-ह्याम्डीले डिजिटल हिंसाले विशेषगरी, सिमान्तकृत समुदायका महिला एवं किशोरीहरुको अधिकार, सम्मान र स्वायत्तता माथि गम्भीर प्रहार गर्ने विषय उल्लेख गर्नुभयो । उहाँले अनलाईनमा महिला एवं किशोरीहरुको सुरक्षाका लागि हानिकारक मान्यताहरुलाई चुनौती दिन, जवाफदेहिता सुदृढ गर्न र डिजिटल अधिकार सुनिश्चित गर्ने प्रणालीमा लगानी गर्न समाजको समग्र सहभागिता आवश्यक पर्ने बताउनुभयो। यसका साथै, उहाँले सम्मानजनक अनलाईन व्यवहार प्रवर्द्धन गर्नका लागि किशोरवस्थामा रहेका व्यक्तिहरुलाई डिजिटल साक्षरता तथा अनलाईन सुरक्षा सम्बन्धी शिक्षाको आवश्यकता रहेको विषयमा जोड दिनुभयो।
कार्यक्रममा सुरक्षित डिजिटल स्पेसका लागि सामूहिक प्रतिबद्धता झल्काउने, युवाद्वारा तयार गरिएको चित्र(म्युरल) प्रदर्शन गरिएको थियो । त्यस्तै, बढ्दो अनलाईन दुर्व्यवहार र प्रभावकारी सुरक्षाको तत्काल आवश्यकताका विषयमा सामाजिक अभियन्ता तथा डिजिटल अधिकारका विज्ञहरुसँग छलफल समेत गरिएको थियो।
कार्यक्रममा, युवा सहभागिहरुले अनलाईन दुर्व्यवहार सम्बन्धी आफ्ना अनुभव तथा सुरक्षित डिजिटल जीवनका लागि उनीहरुप्रति गरिने विश्वास, समर्थन र सशक्तिकरणको महत्व बारे आफ्ना विचारहरु साझा गरे । उनीहरुले पिडितका लागि थप प्रभावकारी सहायता प्रणाली, हानिकारक अनलाईन विषयवस्तुहरुको प्रभावलाई सम्बोधन गर्न र महिला एवं किशोरीहरुलाई सुरक्षित हुने प्लाटफर्महरुको निर्माण गर्न माग गरे ।
“सबै महिला र किशोरी विरुद्ध हुने डिजिटल हिंसा अन्त्य गर्न एक होऔँ” भन्ने नारा सहित डिसेम्बर १० सम्म जारी रहने The UNiTE 2025 अभियानले सबैलाई डिजिटल दुर्व्यवहार विरुद्ध एकजुट हुन र डिजिटल अधिकारलाई आधारभूत मानव अधिकारका रुपमा स्थापित गर्न आह्वान गर्दछ। यसका साथै, यस अभियानले सबै महिला र किशोरीहरुले अनलाइनमा निर्धक्क भएर, प्रयोग गरि प्रगति गर्न सक्ने अनलाइन वातावारणको सिर्जना गर्नका लागि साझा जिम्मेवारी लिन, अभिभावक, शिक्षक, नीति निर्माता तथा प्राविधिक संस्थाहरु लगायत सबैलाई आह्वान गर्दछ ।




















