सूचीकरण हुन नआए फेरि पनि सामाजिक सञ्जाल बन्द गर्नैपर्छः पूर्व सञ्चारमन्त्री गुरुङ

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सूचीकरण हुन नआउने सामाजिक सञ्जाल बन्द गर्नुपर्ने पुरानै रटान दोहोर्‍याएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री गुरुङले नेपालको संविधान र कानुन नमान्ने सामाजिक सञ्जाल फेरि बन्द गर्ने चेतावनी दिएका हुन् ।

‘उनीहरू नेपालको संविधान, कानुन मान्दिनँ भन्छ । तेरो देशको गरिब सरकार भन्छ । सानो, भ्रष्टाचार हुने देश भन्छ । हाम्रो आफ्नो स्वाधीनता र स्वाभिमान छैन ? परिस्थितिले गर्दा मैले प्रतिबन्ध खोल्नुपर्‍यो । सूचीकरण हुन आएनन् भने कुनै न कुनै दिन फेरि बन्द गर्नुपर्छ । नियमन गर्नैपर्छ,’गुरुङले भने ।

नेपालमा सानो चिया पसल सञ्चालन गर्न त दर्ता गर्नुपर्ने कानुन व्यवस्था रहेकामा अर्बौँको कारोबार गर्ने सामाजिक सञ्जाल नेपालमा अनिवार्य सूचीकरण हुनैपर्नेमा गुरुङले दोहोर्‍याए ।उनी सञ्चारमन्त्री रहेको तत्कालीन केपी शर्मा ओली सरकारले नेपालमा सूचीकरण हुन नआएको बहानामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो ।