मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

जेन-जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन-जी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् । जेन-जी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुग्नुभएका उनले यस्तो आग्रह गरेका हुन् ।

उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताए । पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे । ढुङ्गानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरे । अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेन-जी युवाहरुको माग सम्बोधन नभएको ढुङ्गानाले बताए ।उनले भने, ‘आगामी कार्यक्रम भनेको चाहीँ हामीले देश विकास होस्, आन्दोलन पछिको सरकारले नगरे अब आउने वाला निर्वाचित सरकारले गर्छ, ती पुराना शक्तिहरु अथवा पात्रहरुले गर्छन् भन्ने त आश नै गर्न सकिँदैन ।
किनभने हामीले त बारम्बार विश्वास गरिरहेको हो । आन्दोलनको सरकारले पनि यदि विकास गर्न सक्दैन भने केहीले गर्न सक्दैन त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यु, तपाईं बरु सक्नुहुन्न भने राजीनामा दिनुहोस् । बाँकी काम हामी सबै मिलेर गोलमेच भनौं न एउटा चाहीँ अन्तरक्रिया गरेर त्यसपछि गरौँला तपाई सक्नुहुदैन भने छाडिदिनुहोस् ।’

जेन-जी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए ।उनले शनिवार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेन-जी आन्दोलनको आधारमा बनेको भएपनि आफूहरुको माग सम्बोधन नगरेको बताए । भदौ २३ गतेको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरुलाई मात्र प्रहरीले पक्राउ गरेको उनले बताए ।