अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार, अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी–१रबी–२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको हो।नेपाललाई जनवरी २१ देखि लागू हुने गरी यो सूचीमा राखिएको छ ।
भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरी धरौटीको रकम तय गर्नेछन् । यस्तो धरौटीको न्यूनतम रुपैयाँ ५ हजार अमेरिकी डलर हुनेछ भने अधिकतम् रकम १५ हजार अमेरिकी डलर हुनेछ । यो रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल पे डट गभ मार्फत सिधै जम्मा गर्नुपर्नेछ। कुनै पनि तेस्रो पक्ष वा एजेन्टलाई यस्तो रकम नबुझाउन मन्त्रालयले सचेत गराएको छ।
भिसा बन्ड राखेर अमेरिका जाने नेपालीहरूले अब आफू खुसी जुनसुकै विमानस्थल प्रयोग गर्न पाउने छैनन् । उनीहरूले प्रवेश गर्दा र अमेरिका छोड्दा तोकिएका यी ३ विमानस्थल मात्र प्रयोग गर्नुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएला लगायत ३८ देशहरू अहिले यो सूचीमा छन्।



















