राष्ट्र–निर्माणको चेतनाः श्री ५ बडा महाराजधीराज पृथ्वी नारायण शाह र “पृथ्वी पथ”

नेपाल राष्ट्रको इतिहास कुनै सहज संयोग होइन, न त यो सानो परिश्रमबाट प्राप्त उपलब्धि हो। आज हामी “नेपाल” भनेर गर्वका साथ उच्चारण गर्ने यो देश, हजारौँ वीर पुर्खाको रगत, पसिना, त्याग र बलिदानको परिणाम हो। ती सबै बलिदानलाई एउटै राष्ट्रिय चेतनामा बाँध्ने अद्वितीय शक्ति, दूरदर्शिता र साहसका प्रतीक हुन्—श्री ५ बडा महाराजधीराज पृथ्वी नारायण शाह।

पृथ्वी नारायण शाह केवल गोरखाका राजा मात्र थिएनन्; उनी नेपाल राष्ट्र–निर्माणका महानायक, एकीकृत नेपालको शिल्पकार र आधुनिक अर्थमा भन्नुपर्दा पहिला राष्ट्रपिता हुन्। आज पुस २७ का दिन उनको जन्मजयन्ती मनाइनु कुनै औपचारिक परम्परा मात्र होइन, यो नेपाली राष्ट्रिय अस्तित्वको स्मरण गर्ने दिन हो। ३०४ औँ जन्मजयन्तीको सन्दर्भमा प्रश्न उठ्नु स्वाभाविक छ—के नेपाल सरकारले यस दिनलाई राष्ट्रिय बिदा घोषणा गरी, राज्य र नागरिक मिलेर भव्य रूपमा मनाउनु पर्दैन थियो?

एकीकरणः सैन्य विजय मात्र होइन, राष्ट्रिय दर्शन,पृथ्वी नारायण शाहले थालेको एकीकरण अभियान केवल भू–भाग विस्तारको महत्वाकांक्षा थिएन। त्यो त एउटा गहिरो राष्ट्रिय दर्शन थियो—भाषा, जात, संस्कृति, साना–साना राज्यहरूलाई एउटै राष्ट्रियतामा बाँध्ने अभियान। त्यस समयको चेतना, साधन र प्रविधिलाई हेर्दा, यो कार्य असाधारण साहस र अद्भुत दूरदृष्टिबिना सम्भव नै थिएन। उनले बुझेका थिए कि विभाजित राज्यहरू विदेशी शक्तिका लागि सजिलो शिकार बन्छन्। त्यसैले “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भन्ने विचारमार्फत उनले समावेशी राष्ट्रिय एकताको आधार तयार गरे। यही समग्र सोच, यही राष्ट्रिय सुरक्षा र स्वाधीनताको मार्ग नै आज हामीले “पृथ्वी पथ” भनेर बुझ्नुपर्छ।

पृथ्वी पथः राष्ट्र जोगाउने दीर्घकालीन दृष्टि,पृथ्वी पथ कुनै एक कालखण्डको नीति होइन। यो त नेपाल बनाउने, जोगाउने र भविष्यसम्म सुरक्षित राख्ने मूल चिन्तन हो। आत्मनिर्भरता, भूराजनीतिक सन्तुलन, विदेशी हस्तक्षेपप्रति सजगता र राष्ट्रिय स्वाभिमान—यी सबै पृथ्वी नारायण शाहको विचारको केन्द्रीय तत्व हुन्।आज पनि जब राष्ट्रिय स्वाधीनता, सीमासुरक्षा, पहिचान र आत्मसम्मानका प्रश्न उठ्छन्, तब पृथ्वी पथ झन् सान्दर्भिक देखिन्छ। यो विचार प्रत्येक नेपाली नागरिकले पृथ्वी रहुन्जेल बोक्नुपर्ने राष्ट्रिय चेतना हो, किनकि यही चेतनाले हामीलाई “नेपाली” बनाउँछ।

आजका शासक र इतिहासप्रतिको दायित्व,दुःखको विषय के हो भने, आजका शासकहरू इतिहासका यस्ता महान व्यक्तित्वप्रति अपेक्षित सम्मान देखाउन हिच्किचाएको अनुभूति हुन्छ। राष्ट्र बनाउने पितालाई स्मरण नगर्ने, उनको योगदानलाई राज्यस्तरमा उचित महत्व नदिने प्रवृत्ति केवल एक व्यक्तिको अपमान होइन, यो राष्ट्रिय इतिहासप्रतिको उदासीनता हो।

राष्ट्रपिता पृथ्वी नारायण शाहको सम्मान गर्नु भनेको कुनै एक शासन प्रणालीको समर्थन गर्नु होइन; यो त नेपालको अस्तित्व स्वीकार गर्नु हो। इतिहासलाई नकारेर भविष्य निर्माण हुँदैन। जसले जरा बिर्सन्छ, त्यो वृक्ष लामो समय टिक्दैन। कृतज्ञता नै राष्ट्रिय चरित्र हो,हाम्रो पुर्खाले आर्जेको यो मुलुक सानो दुःखले बनेको होइन। स–साना राज्यहरूलाई एकीकृत गरी विशाल नेपाल निर्माण गर्न असंख्य युद्ध, त्याग र बलिदान आवश्यक पर्‍यो। त्यो अद्भुत शक्ति, नेतृत्व र राष्ट्रप्रेम पृथ्वी नारायण शाहमा थियो।

त्यसैले आज पुस २७ केवल जन्मजयन्ती होइन—यो कृतज्ञता प्रकट गर्ने दिन हो, आत्मचिन्तन गर्ने दिन हो, र राष्ट्रप्रति आफ्नो दायित्व सम्झिने दिन हो। पृथ्वी नारायण शाहको विचार, मार्ग र राष्ट्रप्रेमलाई आत्मसात् गर्नु नै उनको सच्चा सम्मान हो।

नेपाल रहुन्जेल पृथ्वी नारायण शाह जीवित रहनेछन्—हाम्रो इतिहासमा, हाम्रो चेतनामा र हाम्रो राष्ट्रिय आत्मामा।