सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउन उनकै पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेस संसदीय दलमा मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको कांग्रेस सुदूरपश्चिमका सांसद दिवानसिंह बिष्टले बताए ।
‘कांग्रेसका १८ सांसदमध्ये लामोसमयदेखि प्रकाशबहादुर देउवा देशबाहिर हुनुहुन्छ,’ उनले भने, ‘नेपालमा रहेका १७ सांसदमध्ये नौ जनाले हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका छौँ ।’
सांसद बिष्टले संसदीय दलको नेता फेर्दै सरकार परिवर्तन गर्ने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । यता नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले भने प्रस्ताव दर्ताबारे आफूलाई जानकारी नभएको बताए ।
कांग्रेसका सांसद मुख्यमन्त्री शाहलाई पदबाट राजीनामा दिन माग गर्दै आएका थिए । उनीहरूले राजीनामा नदिए दल नेताबाट हटाइदिने धम्की दिँदै आएका थिए ।


















