युवाहरूले जिम्मेवार ढंगले नेतृत्व गर्नुपर्छ : चन्दन शाक्य

काठमाडौं, काठमाडौँ महानगरपालिका वडा नं. २५ का पूर्व वडा अध्यक्ष, युवा नेता तथा समाजसेवी चन्दन शाक्यले देशको विकास, सुशासन र राजनीतिक नेतृत्वका विषयमा आफ्नो धारणा व्यक्त गर्दै युवाहरूलाई जिम्मेवार र दूरदर्शी भएर काम गर्न आग्रह गर्नुभएको छ।

एक कुराकानीका क्रममा उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको नेतृत्वमा भएका धेरै गतिविधि सकारात्मक रहेको बताउनुभयो। तर, प्रधानमन्त्रीका रूपमा संसदमा सम्बोधन गर्ने क्रममा “नेपालले भारतको भूमि मिच्यो” भन्ने अभिव्यक्ति आफूलाई चित्त नबुझेको उल्लेख गर्नुभयो।
शाक्यले वर्तमानमा युवाहरूको नेतृत्व र सहभागिता बढ्नु सकारात्मक पक्ष भएको बताउँदै युवाहरूले काम गर्दा तथा सार्वजनिक अभिव्यक्ति दिँदा पर्याप्त सोचविचार र जिम्मेवारीबोधका साथ प्रस्तुत हुनुपर्ने सुझाव दिनुभयो।

काठमाडौँका सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा बोल्दै उहाँले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीहरूलाई हटाउन खोजिनु उचित नभएको धारणा राख्नुभयो। यस्तो कदम हतारमा गरिएको जस्तो देखिएको भन्दै प्रभावित नागरिकहरूको उचित व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो।
राजनीतिक इतिहासको प्रसङ्गमा उहाँले विगतमा तत्कालीन राजा र राजनीतिक शक्तिहरूबीच विश्वासको वातावरण निर्माण हुन नसक्दा देशले ठूलो मूल्य चुकाउनुपरेको टिप्पणी गर्नुभयो। विशेषगरी तत्कालीन विद्रोही नेतृत्व प्रचण्डलाई प्रधानमन्त्री दिई शान्ति प्रकृयामा ल्याएको भए उचित हुने बिगत सम्झदै समयमै विश्वासमा लिन नसक्दा मुलुकले लामो समयसम्म अस्थिरता र दुःख भोग्नुपरेको उहाँको भनाइ थियो।

राजतन्त्रबारे आफ्नो धारणा राख्दै शाक्यले आफूलाई राजा मन परे पनि वर्तमानमा आफूलाई राजावादी बताउने केही समूहहरूले राजसंस्थाको पुनस्र्थापनाभन्दा पनि राजाको नाम प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूरा गर्न खोजेको आरोप लगाउनुभयो। त्यस्ता गतिविधिप्रति आफू असन्तुष्ट रहेको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसा गर्दै जनतासँग प्रत्यक्ष जोडिएर परिणाममुखी काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभयो।

अन्त्यमा शाक्यले देशको समृद्धि र विकासका लागि युवाहरू अग्रसर हुनुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही हुनुपर्ने तथा इमानदार र सक्षम व्यक्तिलाई नेतृत्वको अवसर दिन सके मात्र नेपालमा शान्ति, सुशासन र जनअपेक्षाअनुसारको विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।