सरकारले विदेशबाट फर्किने नेपाली नागरिकका लागि भन्सारसम्बन्धी सुविधा विस्तार गरेको छ। अब श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले आफ्नो साथमा एक थान अतिरिक्त नयाँ मोबाइल फोन ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने छैन। अर्थ मन्त्रालयले राजपत्रमार्फत जारी गरेको नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई यो सुविधा प्रदान गरिएको हो।
नयाँ नियमअनुसार विदेशबाट फर्किने यात्रुले व्यक्तिगत प्रयोगका लागि ल्याएका प्रयोग गरिएका लुगाफाटा, घरायसी सामान, औषधि तथा शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीमा पनि भन्सार छुट पाउनेछन्। त्यस्तै, एक थान ल्यापटप, ट्याबलेट वा डेस्कटप कम्प्युटर, क्यामरा, भिडियो क्यामरा, घडी र मोबाइल फोनमा महसुल लाग्ने छैन। स्वदेश फर्किने नेपालीले ६५ इञ्चसम्मको एक थान टेलिभिजन पनि भन्सार छुटमा ल्याउन सक्ने व्यवस्था गरिएको छ, तर यो सुविधा एक पटकका लागि मात्र लागू हुनेछ।
सरकारले बच्चा बोक्ने पेराम्बुलेटर, ट्राइसाइकल, पेशासँग सम्बन्धित उपकरण तथा सात किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पनि भन्सार छुटको व्यवस्था गरेको छ। यसबाहेक, वैदेशिक रोजगारीमा कम्तीमा छ महिना काम गरी फर्किएका नेपालीले निश्चित सर्त पूरा गरी कार्गो वा हुलाकमार्फत पठाएको सामानमा समेत पूर्ण भन्सार छुट पाउने व्यवस्था गरिएको छ। सरकारको यो निर्णयले विदेशमा काम गरेर फर्किने नेपाली श्रमिकलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।


















