परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणबारे राष्ट्रिय सभालाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराएका छन् । बिहीवारको सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले दुई दिने भारत भ्रमणको बारेमा जानकारी गराएका हुन् । मन्त्री खनालले भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन, सुरक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा उच्चस्तरीय छलफल बताए ।

उनले नेपाल र भारतबीच तीन वटा संयुक्त घोषणा गरिएको उल्लेख गर्दै अन्तरदेशीय व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सेवा सञ्चालन, भारतको सहयोगमा पुनर्निर्मित स्वास्थ्य तथा सांस्कृतिक संरचनाको हस्तान्तरण तथा भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासमा सहकार्य गर्ने घोषणा गरिएको बताए । उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता भएको जानकारी दिँदै साझा सुरक्षा चासो, सीमा व्यवस्थापन र रणनीतिक सहकार्यका विषयमा छलफल भएको बताए । उनले भने, ‘द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा, सीमा व्यवस्थापन, खेलकूद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ ।

दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान गरिएको छ । नेपाल-भारतबीच द्विपक्षीय सहकार्यमा संचालित परियोजनाहरुको प्रगति समीक्षा गर्नुका साथै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे पनि महत्वपूर्ण छलफल भएको छ ।’

उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षा र हकहित संरक्षण लगायत समग्र राष्ट्रिय हितको प्रवद्र्धन विषयमा सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए ।