पौडेल-पोखरेलमाथि ओलीको प्रहार: लोभीपापीले पार्टी फुटाउन पनि सक्छन्

नेकपा एमालेभित्र पुनर्गठनको विषयलाई लिएर आन्तरिक विवाद थप तीव्र बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरू पदको लोभमा पार्टी नेतृत्वविरुद्ध सक्रिय भएको आरोप लगाएका छन्।

शनिबार बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलको छलफल सम्पन्न भएपछि गुण्डुमा आयोजित एक आन्तरिक बैठकमा अध्यक्ष ओलीले कार्यदलको गतिविधिबारे जानकारी लिएका थिए। सो क्रममा उनले पौडेल र पोखरेललाई लक्षित गर्दै पुनर्गठन अभियानले पार्टीलाई एकताबद्ध बनाउनुको सट्टा विभाजनको दिशातर्फ धकेल्न सक्ने टिप्पणी गरेका स्रोतहरूले बताएका छन्।

बैठकमा ओलीले आफूलाई नेतृत्वबाट हटाउने प्रयास भइरहेको दाबी गर्दै त्यसका लागि कुनै स्पष्ट आधार नभएको बताएका थिए। उनले पार्टी र सरकारको बचाउमा सक्रिय नदेखिएका नेताहरू अहिले पुनर्गठनको नाममा नेतृत्व परिवर्तनको अभियानमा लागेको आरोप समेत लगाए।

ओलीले पुनर्गठन तथा विशेष महाधिवेशनको बहसलाई पार्टीभित्रको समस्या समाधानभन्दा पनि विभाजनको जोखिम बढाउने गतिविधिका रूपमा चित्रित गरेका थिए। उनले पार्टीभित्र देखिएका मतभेदहरू केन्द्रीय कमिटीमार्फत समाधान हुनुपर्ने धारणा राख्दै कार्यकर्तालाई पार्टी निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन्।

एमाले सचिवालयले पूर्वउपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा पुनर्गठनसम्बन्धी सुझाव संकलन गर्न कार्यदल गठन गरेपछि पार्टीभित्र बहस तीव्र बनेको हो। कार्यदलको काम अघि बढ्दै जाँदा नेतृत्व र पुनर्गठन पक्षबीचको मतभेद सतहमा देखिन थालेको छ। पार्टीभित्र बढ्दो ध्रुवीकरणका बीच पुनर्गठनको बहस आगामी केन्द्रीय कमिटी बैठक तथा सम्भावित विशेष महाधिवेशनसम्म पुग्न सक्ने आकलन नेताहरूले गरेका छन्।