नेकपाका सांसद नरबहादुर विष्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यशैलीमाथि कडा आलोचना गरेका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री कार्यालयलाई कठोर रूपमा आलोचना गर्दै त्यसलाई अत्याचार र दबाबको केन्द्रजस्तो बनाइएको आरोप लगाएका हुन् । उनले संवैधानिक निकायका प्रमुखहरूलाई बोलाएर अपमान गर्ने, साथै मानवअधिकार आयोगजस्ता संस्थामाथि दबाब र धम्की दिने प्रवृत्ति देखिएको दाबी गरे। सांसद विष्टले सरकारको निर्णय प्रक्रिया र प्रशासनिक शैलीलाई लक्षित गर्दै प्रधानमन्त्री कार्यालयमा देखिएको व्यवहारले शासन प्रणालीको कमजोरी र अपरिपक्वता उजागर भएको टिप्पणी गरे। उनले प्रधानसेनापतिसँग सम्बन्धित एउटा घटनालाई उल्लेख गर्दै उच्च अधिकारीलाई लामो समय कुराएर फर्काइएको विषयले पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको बताए।
त्यस्तै, उनले सरकारी खर्च व्यवस्थापन र सल्लाहकार नियुक्तिको विषयमा पनि प्रश्न उठाए। मन्त्रीहरूको सचिवालयमा ठूलो संख्यामा व्यक्तिलाई उच्चस्तरीय सुविधा दिइएको भन्दै यसले राज्यको आर्थिक बोझ बढाउने खतरा रहेको उनको भनाइ थियो। सांसद विष्टले सरकार सुशासन र जनजीविकाका मुद्दामा असफल भएको आरोपसमेत लगाए। उनले वर्तमान राजनीतिक अवस्थाप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै सहकारी सम्बन्धी विवाद र आर्थिक अनियमितताका घटनाप्रति सरकार उदासीन रहेको दाबी गरे।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले पार्टीको सदस्यता वितरण, आन्तरिक लोकतन्त्र र महाधिवेशन प्रक्रियामाथि पनि प्रश्न उठाए। उनले बालबालिकालाई सदस्यता दिइएको दाबी गर्दै पार्टीको संरचना र प्रक्रियाबारे स्पष्टता नभएको टिप्पणी गरे। सांसद विष्टले आफ्नो सम्बोधनको अन्त्यतिर व्यङ्ग्यात्मक शैलीमा कविता पनि प्रस्तुत गरेका थिए, जसमा उनले भ्रष्टाचार, गरिबी र सहकारी सम्बन्धी विवादलाई संकेत गरेका थिए।



















