देउवा र प्रचण्डका स्वकीय सचिवको सम्पत्तिमाथि अख्तियारको अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव तथा उनीहरूका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव तथा छोरी गंगा दाहालको परिवारको सम्पत्तिबारे अनुसन्धान थालेको हो। अख्तियार स्रोतका अनुसार भानु देउवाको सम्पत्तिमाथि विस्तृत अनुसन्धानका लागि प्रचलित भाषामा ‘१३ पाने फारम’ भनिने विवरणसमेत भराइसकिएको छ।

उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको परिवारका नाममा रहेको चल-अचल सम्पत्तिको विवरण संकलन भइरहेको स्रोतले जनाएको छ। अनुसन्धानका क्रममा भानु देउवा तथा परिवारका सदस्यहरूको बैंक खाता, जग्गा, शेयरलगायत सम्पत्तिको विवरण सम्बन्धित निकायबाट मागेर अध्ययन भइरहेको बताइएको छ।

अख्तियारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालमा स्वकीय सचिव रहेकी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिमाथि पनि अनुसन्धान अघि बढाएको छ। आचार्य कोशी प्रदेशसभाका सदस्य हुन् भने उनी यसअघि कोशी प्रदेश सरकारका मन्त्रीसमेत भइसकेका छन्। अख्तियार स्रोतका अनुसार परिवारका सदस्यको सम्पत्ति अनुसन्धानका क्रममा उनीहरूको नाममा रहेको सम्पत्तिसमेत छानबिनको दायरामा आउने भएकाले गंगा दाहाल र जीवन आचार्यको सम्पत्तिको अनुसन्धान एकसाथ अघि बढाइएको हो। स्रोतका अनुसार उनीहरूको अनुसन्धान भानु देउवाको भन्दा केही अघि बढिसकेको छ। अनुसन्धानका क्रममा पहिचान भएका केही सम्पत्तिको आम्दानी तथा स्रोत खुलाउन थप विवरण माग्ने प्रक्रिया भइरहेको बताइएको छ।

यसअघि नै अख्तियारले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि पनि अनुसन्धान थालेको छ। बज्राचार्यलाई अख्तियारको टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्तिसम्बन्धी विवरण भराइएको स्रोतले जनाएको छ। यससँगै पछिल्ला दिनमा विभिन्न राजनीतिक नेतृत्वसँग निकट रहेका व्यक्तिहरूको सम्पत्तिमाथि अख्तियारको अनुसन्धान क्रमशः विस्तार हुँदै गएको देखिएको छ।