बुबाविहीन २४ वर्ष

आज कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने पवित्र दिन। सबैतिर खुसीयाली र उल्लास छाएको यो दिन मेरा लागि भने फेरि पनि त्यही भारी मन र अथाह पीडा बोकेर आएको छ। आज करिब २४ वर्ष भयो, बुवा हामीलाई छाडेर परलोक हुनुभएको। त्यसै दिनदेखि हामी चार सन्तानले ‘टुहुरो’ भन्ने पीडादायी परिचय पाख्यौँ र हाम्रो घरमा कालो बादल मडारियो; हामी पूर्ण रूपमा सहाराविहीन भयौँ। सिन्दूर, चुरा, पोते अनि रङ्गिन पोसाक खोसिएकी मेरी ममीको आँखाबाट वर्षातको भेलझैँ बगेको आँसुको धारा त्यसपछि कहिल्यै रोकिएन।

हरेक मुश्किलका सारथी बुवालाई गुमाएपछि तमाम खुसीहरू हराउँदारहेछन्। बुवाले परिकल्पना गर्नुभएका छोराछोरीको भविष्य र हामी आफैँले बाटो पहिल्याउँदै सोचेको भविष्यमा कैयौँ गुणा फरक हुँदो रहेछ। यहाँ मार्गनिर्देशकबिना प्रगतिको पथका लागि अगाडि सार्ने पाइलाहरू रातभरि देखेका सपनाजस्तै अस्पष्ट हुँदारहेछन्। बाल्यकालमा हिँड्दा हात थामी हिँड्ने साहारा गुमाएको भएर होला, जहिले पनि आफू अधुरो, अपुरो र खाली-खाली लाग्ने! साँच्चै भन्दा, परिवारको मुख्य व्यक्ति बुवा गुमाउनु र मौरीले आफ्नो रानो गुमाउनु उस्तै हुँदो रहेछ। ‘बुवा’ त्यो शब्द हो, जहाँ प्रेम, मुस्कान, इज्जत, खुसी र साँचो अर्थमा जीवनको बलियो टेको समेटिएको हुन्छ। जसरी छाँयाबिनाको रुख वा छानाबिनाको घर अधुरो हुन्छ, परिवारका लागि बुवाको अनुपस्थितिले दिएको रिक्तता कहिल्यै मेटिँदैन।

दसैँ आउँछ, जान्छ; तिहार आउँछ, जान्छ—खासै अप्ठ्यारो लाग्दैन। तर कुशे औँसी (बुवाको मुख हेर्ने दिन) आउँदा भने मन भारी हुन्छ। जब साथीभाइहरूले सामाजिक सञ्जालमा बुवाप्रतिको प्रेम व्यक्त गरेको देख्छु, तब भक्कानिएको मन सम्हाल्न गाह्रो पर्छ। अझ गाउँका अग्रज, बाजे-बज्यै तथा आफन्तहरूले मेरा बुवा जीवित रहँदा समाजका लागि गर्नुभएको सत्कर्म, उहाँको निष्कलङ्क विचार र समाजप्रतिको सकारात्मक छापका बारेमा कुरा सुनाउनुहुन्छ, तब मेरा आँखाबाट आँसु रोक-तोकबिना झर्न थाल्छन्। बुवाको भौतिक शरीर नरहे पनि उहाँले छोडेर जानुभएको आदर्श र समाजप्रतिको योगदानले हाम्रो शिर सधैँ उच्च बनाएको महसुस हुन्छ। हरेक वर्ष कुशे औँसी आउँछ तर बुवा कहिल्यै आउनुहुन्न। एकैक्षणका लागि भए पनि बुवा आए हुन्थ्यो जस्तो लाग्छ, तर ती सबै कुरा कल्पनामा मात्र सीमित छन्।

एकतर्फ मलाई कुशे औँसी आएको खूब मन पर्छ, किनकि यसले मनमा लागेको भारी बिसाउन र एकान्तमा आँसु बगाउने मौका दिन्छ। मैले कसैलाई देखाउन नसकेका पीडाहरू बेहिसाब झर्ने गर्छन्। तर अर्कोतर्फ, यही कुशे औँसी विरक्त लाग्दो हुन्छ जसले विस्मृतिमा हराइसकेका स्मृतिहरू ताजा गराइदिन्छ। जब परलोक भइसकेका मेरा बुवालाई सम्झन्छु, तब उहाँप्रतिको सम्झना अझ गहिरिएर आउँछ र जीवनका अनेकौँ आयामहरूबारे नयाँ अर्थ बोध हुन्छ।

आजसम्मको म बन्नमा मेरी ममीले कुनै पनि किसिमको अभाव महसुस हुन दिनुभएको छैन। बरु ममिको कैयन रहर इच्छा चाहाना हरुको तिलान्जली दिनुभयो, शैक्षिक योग्यताका हिसाबले सामान्य प्रौढ शिक्षासम्म पनि नपढेकी मेरी ममी, अरू सबै कुरामा मास्टर डिग्री हासिल गरेभन्दा कम हुनुहुन्न। अभावको ठूलो दबाबलाई आफूभित्र मौन राखेर भनी सन्तान प्रति प्रतिबद्द मेरी ममी नै सर्वज्ञानी र मेरी पहिलो गुरु हुनुहुन्छ। साथै, आजसम्मको म बन्नमा मेरा दाजु र दिदीहरूको पनि उत्तिकै ठूलो अभिभावकीय भूमिका रहेको छ। घरको कान्छो छोरा भएकाले सबैले मलाई अपार माया, मोह र सद्भाव दिनुभएको छ, जसले गर्दा बुवा नभएको रिक्ततालाई केही हदसम्म कम महसुस गराएको छ।

परिवारले आशा र भरोसा गरेको व्यक्ति मै हुँ। ममीले देख्नुभएको सुन्दर भविष्यलाई मैले अपुरो छोड्नु हुँदैन, दाजुदिदीको विश्वासलाई मर्न दिनु हुँदैन। बुवा, समाजका लागि हजुरले लिनुभएको सोच, विचार र गर्नुभएको सत्कर्म तथा सकारात्मक छापलाई म सधैँ अगाडि बढाइरहने र निरन्तरता दिने प्रण गर्दछु। हजुरले समाजमा छरेको मेलमिलाप र परोपकारको बाटोलाई कहिल्यै मर्न दिने छैन। हजुरले चाहनुभएको उज्ज्वल भविष्य म अवश्य पूरा गर्नेछु।

आज बुवाको मुख हेर्ने दिन, तर बुवालाई स्पर्श गर्न नपाएको २४ वर्ष भइसकेछ। भावपूर्ण श्रद्धासुमन बुवा! अर्को जुनी पनि हजुरकै सुपुत्र बन्न पाऊँ र यस जुनीमा पूरा गर्न नसकेका सपनाहरू आगामी दिनमा पूरा गर्दै हजुरको नाम सधैँ उच्च राख्न सकूँ।