ओपन एआईका सीईओ भन्छन्– विश्व एआईसँग डराउनु स्वाभाविक हो

ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले कृत्रिम बुद्धिमत्ता (एआई) विकासका क्रममा उत्पन्न हुन सक्ने जोखिमप्रति विश्व चिन्तित हुनु स्वाभाविक भए पनि एआई कम्पनीहरूले जिम्मेवार ढंगले काम गर्ने विश्वास गर्नुपर्ने बताएका छन् ।

सान फ्रान्सिस्कोमा मंगलबार सफ्टवेयर कम्पनी सेल्सफोर्सले आयोजना गरेको वार्षिक सम्मेलनमा बोल्दै अल्टम्यानले भने, ‘विश्वले हामीले सही काम गर्नेछौँ भन्ने विश्वास गर्नुपर्छ, किनकि त्यो सही काम हो र यसको गम्भीरता हामीले महसुस गरेका छौँ ।’

यद्यपि, एआईका क्षमताहरू निकै तीव्र गतिमा विकास भइरहेकाले मानिसहरूमा यसको जोखिमबारे डर हुनु जायज रहेको उनले स्वीकार गरेको बीबीसीको समाचारमा उल्लेख छ । ‘यो कसरी गलत दिशामा जान सक्छ भन्ने कल्पना गर्न अहिले पहिलेभन्दा धेरै सजिलो भएको छ,’ अल्टम्यानले भने, ‘मलाई लाग्छ, विश्व यस विषयमा डराउनु सही हो ।’

अल्टम्यानको यस्तो भनाइ एआईका सम्भावित जोखिमबारे विश्वव्यापी बहस तीव्र भइरहेका बेला आएको हो । गत साता एआई कम्पनी एन्थ्रोपिकबाट बाहिरिएका एक अनुसन्धानकर्ताले एआईलाई नियन्त्रणबाहिर छोडिएमा दशकको अन्त्यसम्ममा यसले सबै मानिसको विनाश गर्न सक्ने दाबी गरेका थिए । उक्त दाबी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो ।