पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा शुक्रबार नमाजका क्रममा मस्जिद नजिकै शक्तिशाली विस्फोट भएको छ । यो आत्मघाती हमलामा १६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमध्ये पाँच जना प्रहरी र ११ जना आम नागरिक रहेका छन् ।
विस्फोटबाट मस्जिदको बाहिरी हिस्सा पूर्ण रूपमा ध्वस्त बनेको छ । विस्फोटपछि सो इलाकामा भागदौड मच्चिएको थियो । प्रहरीका अनुसार सुरुवाती अनुसन्धानका क्रममा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएको पाइएको छ । पाकिस्तानमा यो वर्षमात्रै ९९० वटा आतंकवादी हमलामा १ हजार १२९ जनाको मृत्यु भइसकेको छ ।
घटनालगत्तै प्रहरी र आक्रमणकारीबीच भिडन्तसमेत भएको छ । यसक्रममा ६ जना आक्रमणकारी मारिएका छन् । हमलाको जिम्मेवारी इत्तेहाद–उल–मुजाहिदीन पाकिस्तान नामको आतंकवादी समूहले लिएको छ । यो संगठन गत वर्ष मात्रै बनेको उग्रवादी समूह हो ।


















