नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, प्रदेशअनुसार जिम्मेवारी व्यवस्थापन

लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिँदै आएको समस्या समाधान गर्न सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत लाइसेन्स छपाइ सुरु गरेको छ । साउन १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ प्रणालीअन्तर्गत सेवाग्राहीको विवरण ईडीएलभीआरएसमा अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ ।

सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरेपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ । यातायात व्यवस्था विभागका अनुसार नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरिएको छ । छपाइ भएका लाइसेन्स वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइसकिएको छ । सरकारले प्रदेश सरकारलाई सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था पनि गरेको छ । सोही व्यवस्थाअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ ।

यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको छ । प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र विद्यमान समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणबीचको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको छ । नयाँ प्रणाली लागू भएसँगै प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गर्न थालिएको छ । यसबाट लाइसेन्स छपाइ तथा वितरणमा लामो समयदेखि देखिँदै आएको समस्या कम गर्दै सेवाग्राहीलाई समयमै अनुमतिपत्र उपलब्ध गराउने लक्ष्य राखिएको छ ।