बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। मौसमविद्हरूले उक्त अवधिमा केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेकाले पूर्वतयारी र सतर्कता अपनाउन सुझाव दिएका छन्। यद्यपि वर्षाको मात्रा, भौगोलिक वितरण र जोखिमको स्तरबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न भने हतार गर्न नहुने उनीहरूको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययन गर्दा असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको बताएका छन्। उनका अनुसार केही पूर्वानुमान मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखाएका छन् भने कतिपय मोडेलमा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने संकेत देखिएको छ। तर यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनको अनुमान छ।
पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिन थालेपछि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ। त्यसको सम्भावित प्रभाव नेपालतर्फ पर्न सक्ने भएकाले केही क्षेत्रमा ठूलो वर्षाको जोखिम रहन सक्ने उनले बताएका छन्।
अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निगरानी गर्नुपर्ने बताएका छन्। उनका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्थालाई गम्भीर संकेत गरिरहेका छन्।
उपाध्यायका अनुसार असोज १० गते वर्षाको जोखिम बढी हुन सक्ने संकेत देखिएको छ। यद्यपि अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनले बताएका छन्। यसैबीच, जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता मौसमी प्रणाली कहिलेकाहीँ डिप्रेसनको अवस्थामै कमजोर हुने वा आफ्नो दिशा परिवर्तन गर्ने गर्छन्। त्यसैले हाल सामाजिक सञ्जालमा असोज ८ देखि १२ गतेसम्म ठूलो वर्षा हुने चर्चा भइरहे पनि अहिले नै वर्षाको निश्चित मात्रा र जोखिमबारे निष्कर्ष निकाल्न नसकिने विभागको भनाइ छ।
पौडेलले आगामी दिनमा न्यूनचापीय प्रणालीको विकास, दिशा र शक्तिमा हुने परिवर्तनसँगै नेपालमा यसको सम्भावित प्रभाव थप स्पष्ट हुने बताए। विभागले आवश्यक अवस्था देखिएमा आगामी दिनमा औपचारिक सूचना तथा विज्ञप्तिमार्फत जानकारी गराउने जनाएको छ। त्यसैले हालका पूर्वानुमानलाई सम्भावित जोखिमको संकेतका रूपमा लिएर सम्बन्धित निकाय र सर्वसाधारणले मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिनुपर्ने देखिन्छ।


















