रसुवा बाढीपछि त्रिशूली नदीमा पक्की पुल बगाएपछि आवात जावतमा नै कठिनाइ भइरहेको छ । त्रिशूली र ढुंगे जोड्ने गरी उक्त स्थानमा तत्काल बेली ब्रिज हालिने भएको छ । विदुर नगरपालिको सक्रियतामा सडक विभागले बेली ब्रिज उपलब्ध गराउने भएको हो ।
नगरप्रमुख राजन श्रेष्ठले पालिकाले अध्ययन गरी रिपोर्ट तयार गरेकोमा सडक विभागले आजै स्वीकृत गरेको जानकारी दिए । विभागले ७० मिटर लामो बेली ब्रिज उपलब्ध गराउने र नेपाली सेनाले पुल जडान गर्न सहयोग गर्नेगरी सहमति भएको पनि उनले जानकारी दिए ।
सो सम्बन्धमा आज सडक विभागका महानिर्देश्क डा. विजय जैसीले फिल्डमै गएर अध्ययन गरेका छन् । यसअघि नगरपालिकाले तयार गरेको रिपोर्ट स्वीकृत नगरेको विभागले अध्ययन पश्चात तत्काल अध्ययनसहितको डिजाइन स्वीकृत गरेको हो ।
अस्थायी पुल निर्माण कार्य आजैदेखि सुरु भएको नगरपालिकाका प्रवक्ता समेत रहेको वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र नेपालले जानकारी दिए ।


















