उत्तर कोरियामा इसाई धर्म मान्ने नागरिकमाथि निगरानी, कुटपिट, यातना र जेल सजाय हुने गरेको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ । बेलायती मानव अधिकारवादी संस्था ‘कोरिया फ्युचर’ले सार्वजनिक गरेको प्रतिवेदनमा उत्तर कोरियाबाट भागेका ५७० जनाको अनुभव समेटिएको छ । उनीहरूमध्ये अधिकांशले इसाई धर्म मान्नेहरूविरुद्ध भएको दमन आफूले भोगेको वा देखेको बताएका छन् ।
प्रतिवेदनअनुसार किम जोङ उनको शासनमा धार्मिक स्वतन्त्रतामाथि कडा नियन्त्रण छ । इसाई धर्म मान्ने, बाइबल राख्ने, धार्मिक सभा गर्ने तथा धार्मिक पुस्तक र भिडियो वितरण गर्नेलाई कारबाही हुने गरेको छ । धार्मिक पुस्तक वा भिडियो वितरण गरे मृत्युदण्डसमेत हुन सक्ने कानुनी व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।
उत्तर कोरियामा इसाई धर्म मान्नेहरूले आफ्नो आस्था गोप्य राख्नुपर्ने अवस्था छ । प्रार्थना गर्दा समेत आँखा बन्द गर्न डराउनुपर्ने र गीत गाउँदा ओठ मात्र चलाउने गरेको उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकी ४४ वर्षीया किम बो बिनले बीबीसीलाई बताएकी छन् ।
सन् २००७ मा चीनबाट पक्राउ गरी उत्तर कोरिया फर्काइएपछि उनलाई प्रहरीले इसाई धर्म र मिसनरीसँगको सम्बन्धबारे सोधपुछ गरेको थियो । उनले आफूलाई २३ दिनसम्म कुटपिट गरेर तीन वर्ष श्रम कारागारमा राखिएको बताएकी छन् ।


















