सुनकोशी–मरिण ठेक्का रद्द गर्ने प्रक्रिया :  छानबिन गर्न आङ्देम्बेको माग

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द

गर्ने प्रक्रियामा

प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

कांग्रेसकै आह्वानमा गत १७ कात्तिकमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरिएअनुसार मंगलबार सार्वजनिक लेखा समिति बैठक बसेर सरकारलाई सात बुँदे निर्देशन दिएको पृष्ठभूमिमा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयलाई पदाधिकारीलाई पनि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

 

उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको भन्दै छानबिन आवश्यक हुने बताए ।

‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन । यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले बिहीबार फेसबुक स्ट्याटसमा लेखेका छन् ।

आङ्देम्बेले प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने ठाउँ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।  ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातना गृह ?’ उनले प्रश्न गरेका छन्, ‘कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो ? ठेक्का रद्द गर्ने कानुनी आधार के हो ? राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने ?’

मंगलबारको समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने सन्दर्भमा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्य शक्तिको दुरुपयोगबारे प्रश्न उठाएका थिए । समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ ।