नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा गुटगत शक्ति संघर्षमा सीमित हुन नहुने बताएका छन्। उनले कांग्रेसले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र राष्ट्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। निःशुल्क स्वास्थ्य शिविरसहित डोल्पा पुगेका शर्माले स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा नेतृत्व चयनदेखि पार्टी सञ्चालनसम्म लोकतान्त्रिक विधि, पारदर्शिता र निष्पक्षता कायम हुनुपर्ने बताए। महाधिवेशन तथा आन्तरिक निर्वाचनमा धाँधली, पक्षधरता र आर्थिक प्रभाव स्वीकार्य नहुने उनको भनाइ छ।
उनले कांग्रेसभित्रको बहस कसले कसलाई हराउने भन्नेमा नभई मुलुकका समस्या कसरी समाधान गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताए। गरिबी, बेरोजगारी, शिक्षा तथा स्वास्थ्य सेवाको अभाव र कमजोर पूर्वाधारजस्ता समस्या समाधान गर्न पार्टीले स्पष्ट र कार्यान्वयनयोग्य नीति ल्याउनुपर्नेमा उनले जोड दिए।नेतृत्वको क्षमता गुटगत समीकरण वा व्यक्तिगत प्रभावबाट नभई विचार, कार्यक्षमता, नैतिकता र जनताप्रतिको जवाफदेहिताबाट प्रमाणित हुनुपर्ने शर्माको भनाइ छ।


















