वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकाशे पुल बन्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। बिरामीलाई सडक पार गराउँदा हुने जोखिम र सास्ती कम गर्न ४ करोड ७१ लाख रुपैयाँ लागतमा पुल बनाउन लागिएको हो। बिहीबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुलको शिलान्यास गरेकी छन्। महानगरका अनुसार आगामी कात्तिक ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।