अमेरिकी सेनामाथिका आक्रमणमा इरानले मस्कको स्टारलिङ्क प्रयोग गरेको खुलासा

अमेरिकी सेनामाथि भएका आक्रमणमा इरानले एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा अनधिकृत रूपमा प्रयोग गरेको खुलासा भएको छ। द वासिङ्टन पोस्टले शनिबार प्रकाशित गरेको रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै स्टारलिङ्कको अनधिकृत प्रयोग इरानका अमेरिकी सेनाविरुद्धका गतिविधिसँग जोडिएको उल्लेख गरेको छ।

रिपोर्टअनुसार स्टारलिङ्कको अनधिकृत प्रयोगबारे जानकारी पाएपछि स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्क असन्तुष्ट बनेका थिए। मस्कको टोलीले यस्ता दुई प्रयोग अमेरिकी सेनाविरुद्ध इरानका गतिविधिसँग सम्बन्धित रहेको निष्कर्ष निकालेको बताइएको छ।

यसैबीच, अमेरिकी सेनाले सैन्य प्रयोजनका लागि विकसित स्टारलिङ्कको संस्करण ‘स्टारसिल्ड’ प्रयोग गरेर एकतर्फी ड्रोन उडाएको जानकारी पनि मस्कलाई दिइएको रिपोर्टमा उल्लेख छ।

यस विषयमा स्पेसएक्स र अमेरिकी रक्षा मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। इरानमा स्टारलिङ्क सञ्चालनका लागि आधिकारिक अनुमति नभए पनि यसअघि मस्कले त्यहाँ सेवा सक्रिय रहेको बताएका थिए।