एमाले अधिवेशन: सिन्धुपाल्चोकमा होमनारायण श्रेष्ठ निर्वाचित

नेकपा (एमाले) सिन्धुपाल्चोकको १०औँ अधिवेशनबाट अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । मतगणना अनुसार श्रेष्ठले तीन सय ६३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी निवर्तमान जिल्ला अध्यक्ष कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे । सोमबार सुरु भएको मतदान मंगलबार मध्याह्न सकिएको थियो ।

श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । नेपाल पनि २०७४ कै निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा अर्जुन भण्डारी तीन सय ४५ मत ल्याएर निर्वाचित भए । चार सय तीन मत ल्याएर कृष्णगोपाल तामाङ सचिवमा निर्वाचित भए । खुला उपसचिवतर्फ शिवहरि सापकोटा निर्वाचित भए । उनले तीन सय ६६ मत ल्याए । महिला उपसचिवतर्फ सुशीला पाख्रिन चार सय ५६ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्ष, सचिव र दुवै उपसचिव नेपाल समूहका निर्वाचित भएका हुन् । अधिवेशनमा सात सय ४७ प्रतिनिधि थिए भने एक सय पाँच सदस्यीय कमिटी चुनिएको छ ।