कांग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन, आज बैठक बस्ने

नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । आगामी बैशाख १५ गते इलाम क्षेत्र नं.२ र बझाङ क्षेत्र नं.१ प्रदेश ‘क’मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न मंगलबार बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिए । ‘उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ’, विश्वकर्माले भने । उम्मेदवार टुङ्गो लगाउन आज बुधबार दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए ।

उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन् ।