मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । मङ्गलबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरे पनि सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको पक्षमा ६१ मत परेको छ ।
एक सय सात सदस्यीय प्रदेशसभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरे पनि यादवलाई बैठकमा उपस्थित सबै ६१ प्रदेशसभा सदस्यको मत प्राप्त भएको हो । जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई जसपा, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
गत माघ ८ गते सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभा सदस्यले लगातार तेस्रो पटक नाराबाजीसहित विरोध गरेका थिए । दोस्रो पटक बैठकमा तनाव उत्पन्न हुँदा चार लाखभन्दा बढी लागतका सिसी क्यामेरा, माइक तथा टेबलुलगायतका सामग्रीमा क्षति पुगेको सभामुख मण्डलले सभालाई जानकारी दिए ।
पहिलो र दोस्रो पटक विरोध गर्दा केही समयका लागि बैठक स्थगित गरेका सभामुख मण्डलले तेस्रो पटक विरोध गर्दा जनमत पार्टी प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादवलाई बैठक कक्षबाट बाहिर निकाल्न रुलिङ गरेका थिए । त्यसपछि जनमतका सबै प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरे ।
त्यसैगरी बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै कांग्रेस र प्रमुख प्रतिपक्षीलगायत दलका प्रदेशसभा सदस्यले बहिष्कार गरे पनि बैठक स्थगित नगरिएको जनाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि बैठक बहिष्कार गरेको थियो ।


















