कोशीका प्रमुख खापुङद्वारा सरकार गठनको आह्वान, नयाँ सरकार गठनविरुद्ध मुख्यमन्त्री कार्की अदालत जाँदै

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही बैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ । प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८१ साल बैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ ।’

उता प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन् । सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की आज बिहीबार बिहानै काठमाडौं आइपुगेका छन् । ‘फर्स्ट आवरमै रिट दर्ता गर्न मुख्यमन्त्रीज्यू काठमाडौं पुग्नुभएको छ । आजै रिट दायर गर्नुहुन्छ ।’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहले भने ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश प्रमुखले प्रदेशमा एकैपटक दुई वटा मुख्यमन्त्री हुने कल्पना गरेको देखिन्छ । यो गैरसंवैधानिक छ ।’