कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त, शपथ ५ बजे हुने

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।

उनी झापा निर्वाचन क्षेत्र ५(क)बाट प्रदेशसभा सदस्यमा निर्वाचिन भएका हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो । नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आज बिहीबार अपराह्न ५ बजेका लागि तय गरेको छ । शपथलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । जसअनुसार एमालेबाट रामबहादुर रानामगरलाई अर्थ मन्त्रालय जिम्मेदवारी दिने गरी छलफल भएको एक नेताले जानकारी दिए । यस्तै माओवादी केन्द्रबाट दुर्गा चापागाईँ र गणेश उप्रेतीमध्ये एक जना मन्त्री बन्ने छन् । माओवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिनेगरी छलफल दिने गरी गठबन्धनमा सहमाति भएको बताइएको छ । बाँकी मन्त्रालयमा भने गठबन्धनमा छलफल गरेर सहमति भएपछि छिट्टै मन्त्री नियुक्त हुनेछ ।

प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै आजै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका थिए । यसअघि कोशीको नयाँ मुख्यमन्त्रीमा कार्कीले बिहान ५२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् । ‘संविधानको धारा १६८(५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि कुल प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरूको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान बमोजिम मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन गर्न बहुमत प्रदेशसभा सदस्यहरूको समर्थन रहेको हुँदा तोकिएको म्यादभित्रै झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५(१)बाट निर्वाचित प्रदेशसभा सदस्य म हिक्मतकुमार कार्की कोशी प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेको छु’, कार्कीले खापुङसमक्ष बुझाएको पत्रमा उल्लेख छ ।

खापुङले बुधबार नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएर आह्वान गरेका थिए । आजै प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर समेत गरेका छन् ।