लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी निलम्वनमा पर्ने

बुटवल । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसीलाई ३३ वर्ष पहिले (साबिक रुकुम जिल्ला अदालत) किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएकोमा आज उनले अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका छन । ३३ बर्ष देखि उनी फरारको सूचीमा रहँदै आएका थिए।श्रीमतीसँगको अंश मुद्दामा केसीलाई अदालतले दोषी ठहर गरेको थियो। आत्मसमर्पण गरे संगै सांसद केसी (डीबी)निलम्बित हुने भएका छन् । जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयले औपचारिक पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनी निलम्बित हुने लुम्बिनी प्रदेशका सभामुख तुलाराम मगरले बताए ।उनले भने, ‘उहाँ पक्राउ गरेको औपचारिक पत्र सचिवालयमा आएपछि निलम्बनको प्रक्रियामा जान्छ ।’ भदौ २६ गते लुम्बिनी प्रदेशसभा बैठक बस्नुअघि नै उनी निलम्बन हुनसक्ने उनले बताए । केसी रुकुम पूर्व क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।